काठमाडौं । सहकारी ठगीमा संलग्न कांग्रेस सासद माया राई अन्ततः पक्राउ परेकी छिन् । सत्ताको आडमा ‘पक्राउ नगरिएको’ बताइँदै आएका कांग्रेस समानुपातिक सांसद राईलाई आज शनिबार कपनबाट पक्राउ गरेको हो ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतका अनुसार उनलाई काठमाडौं परिसरमा बुझाइएको छ ।
कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको ठगीमा उनको संलग्नता पुष्टि हुँदा पनि पक्राउ गर्न चासो नदिएको भन्दै सरकार र प्रहरी संगठनको नै विरोध भइरहेको थियो ।
स्वर्णलक्ष्मी सहकारीको दुई कार्यकाल सञ्चालक बसेकी उनीमाथि त्यही समयमा बचतकर्ताको रकम हिनामिना गरेको आरोप लाग्दै आएको थियो । सो सहकारीको दुई अर्ब ६५ करोड हिनामिनामा उनी पनि मुछिएकी हुन् ।
आर्थिक वर्ष ०७३÷७४ मा कल्पनाकुमारी श्रेष्ठ अध्यक्ष, देवेन्द्रबाबु राई उपाध्यक्ष, गीतेन्द्रबाबु राई सचिव, सविना आलेमगर कोषाध्यक्ष तथा यामकुमार नाल्बो, राजु बरालसँगै सांसद राई पनि सञ्चालक समिति सदस्य थिइन् । त्यस्तै, ०७४/७५ देखि ०७५/७६ मा उनी सहसचिव हुँदा कल्पनाकुमारी श्रेष्ठ अध्यक्ष, देवेन्द्रबाबु राई उपाध्यक्ष, दीपक लामा सचिव, रबिना आलेमगर कोषाध्यक्ष तथा भक्तबहादुर भोलन र प्रदीप लामा सदस्य थिए ।
प्रहरीले उनलाई पक्राउ गर्न गत मंसिरमै अदालतबाट अनुमति लिएको थियो । तर, अभियोजनको समयमा कांग्रेस सांसद भएको खुलेपछि स्थायी ठेगाना नखुलेको भनेर अभियोजनबाट जोगाइएको थियो । गत २१ पुसमा प्रहरीले सो सहकारी हिनामिनामा पहिलो चरणको अनुसन्धान सकेर ३ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।
त्यति बेलादेखि नै गैरकानुनी रूपमा कर्जा प्रवाह हुँदा सहकारी धराशायी भएको अनुसन्धानमा देखिए पनि अन्य सञ्चालकलाई मुद्दा चलाउँदा उनलाई अनुसन्धानबाहिरै राखिएको थियो । प्रारम्भिक अनुसन्धानमा उनको संलग्नता देखिएपछि प्रहरीले अदालतबाट पक्राउ पुर्जी लिएको थियो । तर, पछि अभियोगबाट उनको नाम हटेपछि गृह मन्त्रालयकै दबाबमा उनलाई उन्मुक्ति दिइएको आरोप लाग्दै आएको थियो ।
भोजपुर स्थायी घर भएकी राई ‘फरार’ भएपनि उनले तलबभत्ता भने बुझ्दै आएकी थिइन् । फरार रहेकी उनले शुक्रबार संसद पुगेर गोप्य रूपमा हाजिर गरेको विवरण पनि बाहिरिइसकेको छ ।
स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको थियो । थुनछेक बहसपछि काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधव अधिकारीको इजलासले सो आदेश दिएको थियो । लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त र रमण श्रेष्ठले बहस गरेका थिए । त्यस्तै, सुरज बस्नेत र राजेन्द्रप्रसाद सेढाईंले पनि उनको पक्षमा बहस गरेका थिए ।
उनीहरूको बहस सकिएपछि बचतकर्ता (जाहेरवाला) को तर्फबाट जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख रामहरि शर्मा काफ्ले, जिल्ला न्यायाधिवक्ता खडिन्द्र राज कटुवाल र सहायक न्यायाधिवक्ता गणेशकुमार शर्माले जवाफी बहस गरेका थिए । त्यस्तै, पीडितको तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र दिनेश त्रिपाठी पनि बहस गरे । यस क्रममा लामिछानेले पनि करिब एक मिनेट आफ्नो धारणा राखेका थिए ।
गोरखा मिडिया नेटवर्कमा कानुन विपरीत स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ लगेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । रविविरुद्ध ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ बिगो मागदाबी गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया