अध्यक्ष दाहालको आरोप : ‘वर्तमान सरकार सुशासनका विरुद्ध खडा गरिएको बिचौलियाहरूको सरकार हो’

लोकपथ
154
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकार सुशासनका विरुद्ध खडा गरिएको बिचौलियाहरूको सरकार भएको आरोप लगाएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् । 

उनले अहिलेको सरकार गैर जिम्मेवार र सुशासन विरोधी सरकार भएको आरोप लगाए  । उनले अलिकति पनि राजनीतिक विवेक राख्ने, ज्ञान राख्ने मान्छेले अहिलेको सरकार बिचौलियाको हो भनेर स्वीकार गरिसकेको बताए । 

अहिलेको सरकारले दलाल पुँजीपति, बिचौलिया र नोकरशाहहरुको हित गर्ने, भ्रष्टाचारीहरूको रक्षा गर्ने, राम्रो काम गर्नेहरूलाई प्रताडित गर्ने काम गरिरहेको आरोप लगाए । 

सडकमा लाखौँको संख्यामा शिक्षकहरूले आन्दोलन गरिरहँदा उनीहरूका माग पूरा गर्नुको सट्टा अहिलेको सरकार र सरकारको नेतृत्व गैर जिम्मेवार ढंगले शिक्षकहरूलाई, शिक्षा क्षेत्रलाई अझ अराजक बनाउने र शिक्षकहरूलाई अपमानित गर्ने काममा लागेको आरोप लगाए । 

अध्यक्ष दाहालले भने, ‘अहिले जो सरकार चलिरहेको छ । त्यो सरकार सुशासनका विरुद्ध खडा गरिएको बिचौलियाहरूको सरकार हो । अब त अलिकति पनि राजनीतिक विवेक राख्ने, ज्ञान राख्ने मान्छे सबैले पनि स्वीकार गर्न थालेका छन् । यो सरकार दलाल पुँजीपति, बिचौलिया र नोकरशाहहरुको हित गर्ने, भ्रष्टाचारीहरूको रक्षा गर्ने, राम्रो काम गर्नेहरूलाई प्रताडित गर्ने सरकार हो भन्नेकुरा राम्रैसँग स्थापित भइसकेको छ । देशमा अहिले बडो विचित्रको स्थिति बनेको छ । एकातिर सडकमा लाखौँको संख्यामा आन्दोलनरत शिक्षकहरू छन् । झन्डै अब एक महिना हुन लाग्दैछ । तर जसले जिम्मेवारीपूर्वक शिक्षकहरूको माग समाधान गर्नुपर्ने हो त्यो सरकार र सरकारको नेतृत्व अत्यन्त गैर जिम्मेवार ढंगले शिक्षकहरूलाई, शिक्षा क्षेत्रलाई अझ अराजक बनाउने र शिक्षकहरूलाई अपमानित गर्ने काममा लागेको छ ।’

अध्यक्ष दाहालले शिक्षकहरूसँग भएका सम्झौता पूर्णतः कार्यान्वयन हुनुपर्ने बताए । नेकपा (माओवादी केन्द्र) शिक्षकहरूसँग भएका सहमतिअनुसार माग पूरा गर्नुपर्ने, छोटो बाटोबाट गएर ऐन दिनुपर्ने पक्षमा रहेको उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?