काठमाडौं । सत्ताको नेतृत्व गरिरहेको दल नेकपा एमालेले राजावादीहरुको पछिल्लो गतिविधिबारे समीक्षा गरेको छ ।
आज पार्टी मुख्यालय च्यासलमा बसेको सचिवालय बैठकले सो बारेमा छलफल गर्दै राजतन्त्र फर्किनसक्ने कुनै आधार नरहेको निष्कर्ष समेत निकालेको हो ।
त्यस्तै आजको बैठकले मुलुकलाई अलोकतान्त्रिक दिशामा फर्काउने कुनै पनि कार्य स्वीकार्य नहुने भन्दै विशेष प्रस्ताव समेत पारित गरेको बैठकपछि बोल्दै एमाले महासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
‘अहिले पनि वंशको आधारमा शासन गर्ने बहस आफैँमा हास्यास्पद छ । यो देशको लागि हानीकरक र निरर्थक प्रयास हो । हाम्रो पार्टी संविधान र यसले संस्थागत गरेको संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी प्रणालीको पक्षमा उभिन्छ,’ उनले भने ।
त्यसो त राजतन्त्रवादीहरुको गतिविधि बढेसँगै गणतान्त्रिक शक्ति एक हुने नाममा माओवादी समेत सरकारमा सामेल हुने चर्चा चलिरहेको छ ।
त्यसबारे प्रतिक्रिया दिँदै ज्ञवालीले उक्त कुरा बेमौसमी विषय मात्र भएको दाबी गरे । साथै राजावादी शक्तिहरुले चलखेल गरेको भन्दै सत्तामा भाग खोज्ने प्रवृत्ति गलत रहेको समेत बताए ।
‘यो एकदमै बेमौसमी विषय हो। यो बिषयमा हामी प्रवेश गरेनौं। यस्तो बेलामा पनि भागबन्डा खोज्ने भनेको चाहिँ हामी गणतन्त्रको पक्षमा उभिन खोजेको हो कि यसलाई सत्तामा जाने भर्याङ बनाउन खोज्या हो,’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया