काठमाडौं । नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले पूर्व राजा ज्ञानेन्द्रको पछिल्ला गतिविधिबारे असन्तुष्टी जनाएका छन् ।
तत्कालीन समयमा शान्तिप्रक्रियाका मुख्य पात्र मानिने तथा तत्कालनी राजा ज्ञानेन्द्रसँग वार्ता समेत गरेका सिटौलाले पछिल्ला गतिविधिबारे असन्तुष्टी जनाए ।
सोमबार बसेको राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सिटौलाले आफूहरुले पूर्व राजालाई दिएको सम्मान बिर्सिएर ज्ञानेन्द्रले अहिले जनता उचाल्ने र भड्काउने काम गरिरहेको बताए ।
त्यसो त शान्ति प्रक्रियापछि पूर्वराजा ज्ञानेन्द्रसँग प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको विशेष प्रतिनिधिको रुपमा उनै सिटौलाले वार्ता गरेका थिए । एक घण्टा भन्दा बढी वार्ता गरी पूर्वराजालाई दिइने सुविधा र सुरक्षाको प्रबन्धको विषयमा समेत कुरा टुंगिएको थियो ।
सिटौलाले आफूहरुले दिएको सम्मानलाई सम्मानित ठाउँमै बसेर आफ्नो भूमिका निर्वाह गर्न आग्रह गरे । साथै आफू पुनः शासनमा फर्किने चाहना पुरा नहुने भन्दै बरु चुनावका माध्यमबाट, आफ्नो एजेण्डा जनतामा लगेर राजनीति गर्न आउन आग्रह गरे ।
‘हामीले वार्ता गरेर, स्वयम म आफैँ प्रधानमन्त्रीको प्रतिनिधिको रुपमा तत्कालीन राजा ज्ञानेन्द्रसँग करिब १ घण्टा लामै संवाद गरेँ । उहाँलाई बढो सम्मानका साथ हामीले निवास पनि प्रबन्ध गरेर पठायौँ र सुरक्षाको पनि ग्यारेन्टी गरेकै हो, त्यसबेलाको क्याबिनेको डिसिजनबाट । तर अहिले आएर म केही गर्छु भनेर गाडीमा उभिएर ताली खाँदै र ताली दिँदै हिँड्नु स्वभनीय विषय भएन । म यो राष्ट्रिय सभाबाट हामीले बाहिर पठाएका राजालाई पनि बडो सम्मान दिएका छौँ, त्यो सम्मानलाई उहाँले ग्रहण गरिराख्नु नै उचित हुन्छ । होइन भने उहाँले भन्न सक्नुपर्छ कि म अब राजनीतिक खेलाडीको रुपमा मैदानमा आए भन्न सक्नुपर्छ । उहाँले मेरो नीति तथा कार्यक्रम यो हो भनेर दलहरुजस्तै प्रस्तुत हुन सक्नुपर्दछ । तर राजा आउँछन् है भन्ने सन्देश दिएर सर्वसाधारण जनतालाई भड्काउने काम भएको छ,’ उनले भने ।
त्यस्तै पूर्व राजाले गणतन्त्रको मैदानमा परेड खेल्दा समेत परिवर्तनकारी दलहरु भने मौनता साँधेर बसेको उनको आरोप छ । राजावादी शक्तिहरु सल्बलाइरहेका बेला परिवर्तनका पक्षधर शक्तिहरु भने चुप लागेको बसेको भन्दै एकताबद्ध भएर अघि बढ्न आग्रह गरे ।
‘त्यसमा हामी परिवर्तनकारी राजनीतिक दलहरुको जुन, म मौनता त भन्दिन तर जुन किसिमको दृढता हुनुपर्ने हो त्यो हुनसकिराखेको मैले देखिरोको छैन । हामी सबै राजनीतिक दलहरु जे जति छौँ यो परिवर्तनको पक्षमा, संविधानको मुलभुत विषयको पक्षमा हामी एकपटक प्रतिबद्ध भएर उभिने बेला भयो,’ उनले भने ।
त्यस्तै ठूलो संघर्षपछि प्राप्त उपलब्धीलाई परिवर्तनकारी शक्तिहरुले जोगाउन नसकेको भन्दै कटाक्ष गरे । संविधान १० वर्षमा पुनरावलोकन हुन सक्ने प्रावधानमा रहेर त्यसलाई मौलिक बनाउँदै लैजानुपर्नेमा सिटौलाको जोड रहेको छ ।
पछिल्लो समय नेपाल र नेपाली राजनीतिलाई पपुलिज्मको हावाले छोएको टिप्पणी गरे । संसद्मा भ्रष्टाचारलाई निर्मुल पार्न आयोग नै बनाएर जानुपर्ने कुरा उठ्ने गरेकोप्रति कटाक्ष गर्दै उनले संविधानले नै व्यवस्था गरेको आधारमा काम गर्नुपर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया