शिक्षाको गुणस्तर वृद्धि गर्न सामूहिक प्रयास आवश्यक : उपप्रधानमन्त्री सिंह

लोकपथ
126
Shares

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले शिक्षाको गुणस्तर वृद्धि गर्न सामूहिक प्रयास आवश्यक रहेको बताएका छन् ।  

आज ललितपुरमा आयोजित नेपाल अङ्ग्रेजी भाषा शिक्षक संघको २९औँ अन्तर्राष्ट्रिय सम्मेलनमा उनले पाठ्यक्रम विकास, शिक्षक तालिम र समयसापेक्ष नीति निर्माण गरी शिक्षाको गुणस्तर वृद्धि गर्न सामूहिक प्रयास आवश्यक पर्ने बताएका हुन् । 

विगतमा भन्दा अहिले शिक्षाको क्षेत्रमा सकारात्मक परिवर्तन आएको भन्दै उपप्रधानमन्त्री सिंहले मुलुकभित्रै गुणस्तरीय शिक्षा लिन सक्ने अवस्था बन्दै जानु सुखद पक्ष रहेको उल्लेख गरे। शैक्षिक नीति सुधारमा अङ्ग्रेजी भाषासम्बन्धी नीति निर्माण गरी सकारात्मक परिवर्तनका क्षेत्रमा योगदान गर्न पनि उनले संघलाई आग्रह गरे। 

‘नयाँ शैक्षिक नीतिको निर्माण, पाठ्यक्रम विकास, शिक्षक तालिम र नीति पैरबीमार्फत शिक्षाको गुणस्तर वृद्धि गर्न सामूहिक प्रयास जरुरी छ । पाठ्यक्रम, सिकाइ सामग्री, शिक्षण विधिमा निरन्तर सुधार सुनिश्चित गर्न हामीले शिक्षा, विज्ञान र प्रविधि मन्त्रालयसँग सहकार्य गर्दै काम गर्नुपर्छ, ‘उपप्रधानमन्त्री सिंहले भने । 

सन् १९९२ मा स्थापना भएदेखि नेपालमा अङ्ग्रेजी भाषा शिक्षालाई अगाडि बढाउन संघले निर्वाह गरेको भूमिकाको उपप्रधानमन्त्री सिंहले प्रशंसा गर्दै देशको दुर्गम क्षेत्रमा अङ्ग्रेजी भाषाको शिक्षा र सिकाइलाई अभिवृद्धि गर्नमा थप भूमिका खेल्न आग्रह पनि गरे । ललितपुरमा आजदेखि सुरु भएको सम्मेलन तीन दिनसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?