आत्महत्या गरेकी सशस्त्रकी इन्सपेक्टर महत प्रेम सम्बन्धमा थिइन्, पर्‍यो आत्महत्या दुरुत्साहनको जाहेरी

पक्राउ पुर्जी लिएर अनुसन्धान गरिन्छ : एसपी ओलिया

लोकपथ
51.6k
Shares

पोखरा । सशस्त्र प्रहरी निरीक्षक सन्तोषी महतको शंकास्पद मृत्युबारे प्रहरीमा जाहेरी परेको छ । 

उनलाई आत्महत्या गर्न बाध्य पारेको कसुरमा उनीभन्दा सिनियर सशस्त्र प्रहरी निरीक्षकविरुद्ध पीडितका परिवारले जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दिएका हुन् । 

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख तथा एसपी श्यामबाबु ओलियाले जाहेरी आएको पुष्टि गर्दै दर्ता पछि पक्राउ पुर्जी लिएर अनुसन्धान गर्ने तयारी भइरहेको बताए । 

महतको परिवारले १६ बेसिकका एक सशस्त्र प्रहरी निरीक्षकविरुद्ध किटानी जाहेरी दिएका हुन् । जाहेरी परेका सशस्त्र प्रहरी निरीक्षक तनहुँको भानुस्थित नम्बर–२३ मनकामना गणमा कार्यरत छन् । सशस्त्र प्रहरी स्रोतका अनुसार उनीहरू प्रेम सम्बन्धमा थिए । प्रेम सम्बन्धमा दरार आएपछि उनले आत्महत्या गरेको आशंका गरिएको छ । 

शनिबार राति पोखरास्थित हुल तथा दङ्गा व्यवस्थापन तालिम शिक्षालय लामापाटनमा सशस्त्र प्रहरी निरीक्षक महत झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । सशस्त्र प्रहरी निरीक्षकको बेसिक तालिम गरिरहेकी उनी ब्यारेकको महिला शौचालयको नजिकको बिममा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । महत १७ बेसिक (२०८१) कि सशस्त्र प्रहरी निरीक्षक हुन् ।

उनको शव पोस्टमार्टमको लागि काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको छ । 

घटना अनुसन्धान गर्न सशस्त्र प्रहरी बल प्रधान कार्यालयले सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थका डीआईजी लक्ष्मणबहादुर सिंहको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ । 

सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका–७ लागर्चे घर भएकी महतले सशस्त्रमा जवानदेखि जागिर खाएकी थिइन् । कक्षा १२ सकिने बित्तिकै २०७१ मा सशस्त्रकै प्रहरी सहायक निरीक्षकमा आवेदन दिए पनि सफल हुन नसकेकी उनी २०७२ सालमा जवानमा भने भर्ना हुन सफल भएकी थिइन् । उनले तेस्रो प्रयासमा २०७८ सालमा सशस्त्रको असईमा नाम निकालेकी थिइन् । २०८० सालमा भने उनले सशस्त्र प्रहरी निरीक्षकमा आवेदन दिएकी थिइन् र सफल पनि भएकी थिइन् । उनले खुल्लाबाट ९ नम्बरमा नाम निकालेकी थिइन् । 

सशस्त्र प्रहरी निरीक्षकको बेसिक तालिम १८ महिनाको हुन्छ । गत मंसिर अन्तिममा बेसिक तालिमको लागि उनी पोखरा लामाटार आएकी थिइन् । सशस्त्रमा पहिलो चरणको तालिम पोखरामा हुन्छ भने दोस्रो चरणको तालिम मातातीर्थस्थित एकेडेमीमा हुन्छ । उनी पहिलो चरणको तालिम गर्दै थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?