काठमाडौं । हाम्रा स्थानीय तहका जनप्रतिनिधिहरुको काम गराइबारे निरन्तर प्रश्न उठिरहन्छ । कमजोर शैक्षिक धरातल भएका कारण धेरै जनप्रतिनिधिहरु आफैँ निवेदन समेत लेख्न सक्दैनन् भन्दै आलोचना हुने गरेको छ । सामाजिक सञ्जालदेखि सूचनाहरु समेत आफ्ना निकटका व्यक्तिहरुको भर पर्नुपर्ने गरेका धेरै उदाहरणहरु छन् ।
अरु त अरु आफ्नो पालिकाको सूचना समेत लेख्न नसकी अरु पालिकाकै सूचना चोरेर सार्वजनिक गर्नुपर्ने उदाहरण भेटिएको छ ।
सर्वोच्चको आदेशको अवज्ञा गर्र्दै आज माओवादीबाट निर्वाचित पालिका प्रमुखहरुले धेरैवटा स्थानीय तहमा ‘जनयुद्ध दिवस’ भन्दै आफूखुसी बिदा दिएका छन् ।
सो क्रममा उदयपुरको लिम्चुङबुङ गाउँपालिका र ताप्ली गाउँपालिकाले समेत सार्वजनिक बिदाको घोषणा गरे । सोही अनुसार दुवै पालिकाका कामहरु ठप्प भए । तर अचम्मको कुरा त के छ भने दुवै पालिकाको लेटरहेडमा सार्वजनिक सूचना समेत हुबहु एउटै कपिपेस्ट गरेको पाइएको छ ।
लिम्चुङबुङबाट सार्वजनिक सूचनामा अध्यक्ष मेजरकुमार राई र उपाध्यक्ष पुष्पलाल राईले हस्ताक्षर गरेका छन् । भने ताप्ली गाउँपालिकाका अध्यक्ष ढुंगराज विकले हस्ताक्षर गरेका छन् ।

‘प्रस्तुत विषयमा नेपालको इतिहासको हरेक कालखण्डमा भएका सबै परिवर्तनहरु कुनै न कुनै राजनैतिक दलको नेतृत्वमा भएका छन्, ती राजनैतिक दलसँग जनता जोडिएका छन् । ती जनताको त्याग, तपस्या, बलिदान र आन्दोलनहरुको उपज आजको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्थामा सबै संरचनाहरु अस्तित्वमा छन् । लोकतन्त्र, मानवअधिकार र अग्रगामी राज्यको लागि योगदान गर्ने महासन नेपाली जनता वीर शहीदहरुप्रति सम्मानस्वरुप सदाझैँ संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापनाको लागि परिवर्तनको शुभारम्भ भएको दिन फागुन १ गते जनयुद्ध दिवसलाई उत्सवको रुपमा मनाउन पालिकाभर अत्यावश्यक सेवा बाहेकलाई सार्वजनिक बिदा दिइएको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ,’ दुवै गाउँपालिकाले जारी गरेको सूचनामा भनिएको छ ।

अब प्रश्न उठ्छ आफ्नो पालिकाको निर्णयबारे आफैँ सूचना समेत लेख्न नसक्ने पालिका प्रमुखले अरु के गर्न सक्लान् ?
ताप्ली गाउँपालिकाका अध्यक्ष ढुंगराज विश्वकर्माले आफूहरु दुवै अध्यक्ष सँगै मिलेर सो सूचना तयार गरेको बताए ।
ताप्ली गाउँपालिका र लिम्चुङबुङ गाउँपालिकाले सार्वजनिक गरेको सूचना एकै रहेछ, आखिर तपाईँहरुमध्ये कसले सूचना समेत चोर्यो भन्ने लोकपथको प्रश्नमा अध्यक्ष विश्वकर्माले लोकपथसँग भने, ‘कसैले पनि चोरेको होइन, हामी आ–आफैँले सल्लाह गरेर बनाएको हो । त्यसलाई चोरेको भन्न मिल्दैन ।’
आफ्नो पालिकाको निर्णय समेत आफैँ लेख्न नसक्ने भन्दै तपाईँमाथि जनताले प्रश्न उठाए भने के हुन्छ भन्ने लोकपथको अर्को प्रश्नबारे उनी बोल्न चाहेनन् ।
यता लिम्चुङबुङका अध्यक्ष मेजर बहादुर राईले फोन उठाएनन् । भने उपाध्यक्षलाई पटकपटक सम्पर्क गर्दा समेत आफू व्यस्त रहेको बताउँदै सोबारे जानकारी दिन आनाकानी गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया