सर्वोच्चको आदेश अवज्ञा गर्दै माओवादीले जितेका यी पालिकाले मनाए ‘जनयुद्ध दिवस’

लोकपथ
588
Shares

काठमाडौं । गत निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित स्थानीय तहका प्रमुखहरुले आफ्नो स्थानीय तहमा जनयुद्ध दिवसका नाममा सार्वजनिक बिदा दिएका छन् ।

देशभरका ३ दर्जन भन्दा बढी स्थानीय तह (गाउँपालिका/नगरपालिका) ले सार्वजनिक बिदा दिएका हुन् । ती सबै गत निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित पालिका प्रमुखहरु रहेको स्थानीय तह हो ।

२०७९ सालमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले फागुन १ गतेलाई जनयुद्ध दिवस मनाउने भन्दै सार्वजनिक बिदाको घोषणा गरेको थियो । पहिलोपटक सो वर्ष सार्वजनिक बिदा दिइए पनि गत वर्ष भने सर्वोच्चको आदेशसँगै सार्वजनिक बिदामा रोक लागेको थियो । सर्वोच्चका न्यायाधीश आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको संयुक्त इजलासले सार्वजनिक बिदालाई निरन्तरता नदिन आदेश दिएको थियो ।

सार्वजनिक बिदा दिने निर्णयले द्धन्द्धपीडितमा थप पीडा थपिने भन्दै बिदा दिने निर्णय कार्यान्वयन भएको थिएन । तर यसवर्ष भने माओवादीबाट जितेका धेरै स्थानीय तहले जनयुद्ध दिवसका नाममा सार्वजनिक बिदा दिएका छन् ।

त्यसो त बुधबार मात्रै पनि सर्वोच्च अदालतले जनयुद्ध दिवसका नाममा सार्वजनिक बिदा नदिन आदेश दिएको छ । गत माघ २८ मा रुकुम पश्चिमको बाफिकोट गाउँपालिकाले ‘जनयुद्ध दिवस’ का लागि भनेर फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। त्यसविरुद्ध स्थानीय चन्द्रशेखर केसीले माघ २९ मा सर्वोच्चमा रिट दायर गरेका थिए । त्यसको सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले सार्वजनिक बिदा नदिन आदेश दिएको हो ।

त्यसो त त्यसअघि गत वर्षको फैसलामा शान्ति प्रक्रिया हुँदा जनयुद्ध शब्द नै प्रयोग नभएको त्यसको ठाउँमा सशस्त्र युद्ध प्रयोग भएको भन्दै जनयुद्ध शब्द प्रयोग नगर्न समेत आदेश दिएको थियो ।

त्यसो त कतिपय स्थानीय तहले भने जनयुद्ध दिवस नै उल्लेख नगरी सार्वजनिक बिदाको घोषणा गरेका छन् ।

त्यसो त रोल्पाको लुङ्ग्री गाउँपालिकाले विविध खेलकुद, सांस्कृतिक मेला सम्मेलन एवं शहीद परिवारको सम्मान र भेटघाट गर्ने भन्दै सार्वजनिक बिदाको घोषणा गरेको छ ।

‘प्रस्तुत विषयको सम्बन्धमा यस पालिकाभित्र विविध खेलकुद, सांस्कृतिक, भेला सम्मेलन एवं शहीद परिवार सम्मान तथा भेटघाट जस्ता कार्यक्रमहरु हुने भएकाले लुम्बिनी प्रदेश कानुन बमोजिम प्राप्त अधिकारको प्रयोग गरी यस गाउँपालिकाको मिति २०८१ माघ २८ गतेको ११औँ बैठकको निर्णयानुसार मिति २०८१ साल फागुन १ गतेका दिन यस स्थानीय तह अन्तर्गतका सम्पूर्ण सरकारी कार्यालयहरुमा अत्यावश्यक सेवा निरन्तर रहने गरी स्थानीय बिदा हुने व्यहोरा जानकारी गराउँदछौँ,’ गाउँपालिकाको सूचनामा भनिएको छ ।

माओवादी केन्द्रका उम्मेदवारले जितेका नुवाकोटका चारवटै पालिकाका सार्वजनिक बिदा दिइएको छ । नुवाकोटका बेलकोटगढी नगरपालिका, ककनी गाउँपालिका, पञ्चकन्या गाउँपालिका तथा दुप्चेश्वर गाउँपालिकाले सार्वजनिक बिदाको घोषणा गरेका हुन् ।

त्यस्तै माओवादीको आधार इलाका रहेका कर्णाली तथा लुम्बिनी प्रदेशका धेरै स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् ।

माओवादीको मुख्य केन्द्र मानिने रोल्पाका १० मध्ये माओवादीले जितेका ७ स्थानीय तहमा सार्वजनिक बिदा दिइएको छ । कतै कार्यपालिका बैठक त कतै अध्यक्षको एकल निर्णयबाट बिदा दिइएको हो । रोल्पाको रोल्पा नगरपालिकासहित सुनिल स्मृति, लुङ्री, माडी, सुनछहरी, थबाङ र परिवर्तन गाउँपालिकामा ‘जनयुद्ध दिवस’ मनाउन सार्वजनिक बिदा दिइएको हो  । तर अन्य पालिकामा भने सार्वजनिक बिदा दिइएको छैन ।

त्यस्तै माओवादीको आधार क्षेत्र मानिने रुकुम पश्चिममा त्रिवेणी, सानीभेरी र बाफिकोट गाउँपालिका तथा चौरजहारी र आठबिसकोट नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेका छन् ।

तर बाफिकोट गाउँपालिकाविरुद्ध सर्वोच्चमा मुद्दा परेसँगै उसले पुनः जनयुद्ध शब्द हटाएर अर्को सूचना जारी गर्दै सार्वजनिक बिदा दिएको छ ।

त्यस्तै जुम्लाका सिँजा र तिला गाउँपालिकाले समेत सार्वजनिक बिदाको घोषणा गरेका छन् ।

यता कालिकोटका रास्कोट नगरपालिका, शुभकालिका, महावै र सान्नी त्रिवेणी गाउँपालिका, हुम्लाको मुड्केचुला गाउँपालिका र जाजरकोटको नलगाड नगरपालिकाले सार्वजनिक बिदाको घोषणा गरेका छन् ।

त्यस्तै लुम्बिनी प्रदेश अन्तर्गतको दाङको बंगलाचुली गाउँपालिका, बर्दियाको राजापुर नगरपालिका र बाँकेको खजुरा गाउँपालिकामा पनि बिहीबार सार्वजनिक बिदा दिएका छन् ।
यसैगरी मकवानपुरको बागमती गाउँपालिका, बागलुङको ताराखोला गाउँपालिकाले समेत सार्वजनिक बिदा दिएका छन् ।

गोरखाको गण्डकी गाउँपालिका र गोरखाकै सहिद लखन गाउँपालिकाले नेपालका प्रथम सहिद लखन थापा मगर र उनका सहयोद्धा जयसिंह चुमी राना मगरको १४८ औं स्मृति दिवसको अवसर भनेर फागुन १ र २ मा सार्वजनिक बिदा दिएको छ ।

यता काभ्रेको चौंरीदेउराली गाउँपालिका पनि सार्वजनिक बिदाको घोषणा गरेको छ ।

खोटाङमा जन्तेढुंगा र खोटेहाङ गाउँपालिका, सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका, ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका, पाँचथरको मिक्लाजुङ गाउँपालिका र भोजपुरको रामप्रसाद राई गाउँपालिकाले पनि जनयुद्ध दिवस मनाउन सार्वजनिक बिदा दिएको छ ।

कांग्रेसले जितेको पालिकामा समेत सार्वजनिक बिदा

कार्यपालिकामा माओवादीको बहुमत रहेका कारण कांग्रेसले जितेको पालिकामा समेत ‘स्थानीय बिदा’ को नाममा सार्वजनिक बिदा दिइएको छ । अछामको रामारोशन गाउँपालिकामा गत निर्वाचनमा नेपाली कांग्रेसले जितेको थियो । नेपाली कांग्रेसका मानबहादुर साउदले सो पालिकामा जिते पनि कार्यपालिकामा अल्पमतमा रहेका कारण सार्वजनिक बिदा दिएका छन् । उनले आजको दिन विभिन्न सांस्कृतिक कार्यक्रमसहित शहीद परिवारलाई सम्मान गर्ने भन्दै सार्वजनिक बिदा दिने घोषणा गरेका हुन् ।

पत्र हेर्नुहोस् :

दुई पालिकाको एकै सूचना

उदयपुरको लिम्चुङबुङ गाउँपालिका र ताप्ली गाउँपालिकाले समेत सार्वजनिक बिदाको घोषणा गरेका छन् । सोही अनुसार दुवै पालिकाका सरकारी कार्यालयहरु बन्द रहे । तर अचम्मको कुरा त के छ भने दुवै पालिकाको लेटरहेडमा सार्वजनिक सूचना समेत हुबहु एउटै कपिपेस्ट गरेको पाइएको छ ।

लिम्चुङबुङबाट सार्वजनिक सूचनामा अध्यक्ष मेजरकुमार राई र उपाध्यक्ष पुष्पलाल राईले हस्ताक्षर गरेका छन् । भने ताप्ली गाउँपालिकाका अध्यक्ष ढुंगराज विकले हस्ताक्षर गरेका छन् ।

‘प्रस्तुत विषयमा नेपालको इतिहासको हरेक कालखण्डमा भएका सबै परिवर्तनहरु कुनै न कुनै राजनैतिक दलको नेतृत्वमा भएका छन्, ती राजनैतिक दलसँग जनता जोडिएका छन् । ती जनताको त्याग, तपस्या, बलिदान र आन्दोलनहरुको उपज आजको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्थामा सबै संरचनाहरु अस्तित्वमा छन् । लोकतन्त्र, मानवअधिकार र अग्रगामी राज्यको लागि योगदान गर्ने महासन नेपाली जनता वीर शहीदहरुप्रति सम्मानस्वरुप सदाझैँ संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापनाको लागि परिवर्तनको शुभारम्भ भएको दिन फागुन १ गते जनयुद्ध दिवसलाई उत्सवको रुपमा मनाउन पालिकाभर अत्यावश्यक सेवा बाहेकलाई सार्वजनिक बिदा दिइएको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ,’ दुवै गाउँपालिकाले जारी गरेको सूचनामा भनिएको छ ।

यो पनि…

आफैँ सूचना समेत लेख्न सक्दैनन् पालिका प्रमुख, अर्काको हुबहु कपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?