१.५ डिग्री तापक्रम वृद्धिको लक्ष्यमा कोप-३१ सम्मेलनमा मतभेद

लोकपथ
0
Shares

काठमाडौं । विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसभित्र सीमित राख्ने लक्ष्यबारे संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–३१) मा मतभेद देखिएको छ ।

टर्कीको अन्ताल्यामा जारी सम्मेलनमा केही देशले यो लक्ष्य कायम राख्नुपर्ने बताएका छन् भने केही देशले यसलाई हटाउनुपर्ने धारणा राखेका छन् ।

संयुक्त राष्ट्रसंघले गत सेप्टेम्बरमा औद्योगिक युग सुरु हुनुअघिको तुलनामा विश्वको तापक्रम १.५ डिग्रीभन्दा माथि पुग्ने अवस्था अब नजिकिएको र रोक्न कठिन भएको बताएको थियो । हालसम्म पृथ्वीको औसत तापक्रम करिब १.४ डिग्री सेल्सियसले बढिसकेको छ ।

जलवायु परिवर्तनको जोखिममा रहेका साना टापु राष्ट्रहरूले भने १.५ डिग्रीको लक्ष्यलाई निरन्तरता दिनुपर्ने माग गरेका छन् । प्रशान्त महासागरमा रहेको पलाउका राष्ट्रपति सुराङ्गेल ह्विप्स जुनियरले यो लक्ष्य आफ्नो देशको खाद्य सुरक्षा, अर्थतन्त्र र अस्तित्वसँग जोडिएको बताएका छन् ।

अस्ट्रेलियाले सार्वजनिक गरेको वार्तासम्बन्धी विवरणअनुसार केही देशले अन्तिम सम्झौतामा पनि १.५ डिग्रीको लक्ष्य कायम राख्नुपर्ने माग गरेका छन् । तर साउदी अरब र भारतसहितका केही देशले भने उक्त लक्ष्य सम्झौताबाट हटाउन खोजेको बताइएको छ ।

ग्रीनपिसका प्रतिनिधि ज्यास्पर इन्भेन्टरका अनुसार केही विकासशील देशहरू आर्थिक सहयोग नपाई उत्सर्जन घटाउन थप दबाब पर्ने चिन्तामा छन् ।

यसैबीच, संयुक्त राष्ट्रसंघका निवर्तमान महासचिव एन्टोनियो गुटेरेसले तापक्रम १.५ डिग्रीभन्दा माथि पुगे पनि त्यसलाई सकेसम्म छिटो घटाएर पुनः सीमाभित्र ल्याउनुपर्ने बताएका छन् ।

वैज्ञानिकहरूका अनुसार तापक्रम १.५ डिग्रीभन्दा माथि पुग्दा भीषण बाढी, अत्यधिक गर्मी र समुद्रमा रहेका मुगा चट्टान नष्ट हुने जोखिम बढ्छ ।

एक्सेटर विश्वविद्यालयका जलवायु वैज्ञानिक पियरे फ्रिडलिङस्टाइनले तापक्रम पुनः १.५ डिग्रीमा झार्न हरितगृह ग्यास उत्सर्जन तीव्र रूपमा घटाउनुपर्ने बताएका छन् । यसका लागि वृक्षरोपण, सिमसार क्षेत्रको संरक्षण र नयाँ प्रविधिको प्रयोग आवश्यक रहेको उनको भनाइ छ ।

उनले १.५ डिग्रीको लक्ष्य हासिल गर्न असम्भव नभए पनि निकै चुनौतीपूर्ण रहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?