स्याङ्जा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारलाई तर्साएर शासन गर्ने प्रयास नगर्न चेतावनी दिएका छन् । उनले कांग्रेस रहेसम्म देशमा लोकतन्त्र र प्रेस स्वतन्त्रता कसैले खोस्न नसक्ने बताएका छन् ।
नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नम्बर २ (क) प्रदेश कार्यसमितिको पद हस्तान्तरण तथा प्रशिक्षण कार्यक्रममा बोल्दै पौडेलले लोकतन्त्रको पक्षमा बोल्ने कांग्रेसको आवाज दबाउने प्रयास भइरहेको बताए ।
उनले निर्वाचन जित्दैमा कानुन मिच्ने अधिकार कसैलाई नहुने बताए । सरकार र सबै राजनीतिक दलले लोकतान्त्रिक मूल्य, मान्यता र कानुनी शासनको सम्मान गर्नुपर्ने उनको भनाइ थियो ।
कांग्रेसलाई कमजोर बनाएर देशको लोकतन्त्र कमजोर बनाउने प्रयास भइरहेको आरोप लगाउँदै उनले मुद्दा पर्दैमा दुई जना सभापति नहुने स्पष्ट पारे। सरकारविरुद्ध अदालतमा मुद्दा पर्दैमा अर्को सरकार नबन्ने भन्दै उनले राजनीतिक विषयलाई कानुनी प्रक्रियासँग जोडेर भ्रम फैलाउन नहुने बताए ।
महामन्त्री पौडेलले वर्तमान सरकारले नागरिकका समस्यालाई सम्बोधन गर्न नसकेको आरोप पनि लगाए। संविधान संशोधन, भोटेकोसी बाढी प्रभावितको समस्या र सुकुम्बासी समस्या समाधानमा सरकारको काम प्रभावकारी नभएको उनको भनाइ थियो। यसले सरकारप्रति नागरिकको विश्वास घट्दै गएको उनले बताए ।
कांग्रेसले निर्वाचन हारे पनि विचारको जित भएको उल्लेख गर्दै उनले कांग्रेसलाई राजनीतिको विश्वविद्यालयको संज्ञा दिए ।
उनले आगामी मंसिर १ गतेदेखि स्थानीय तहको निर्वाचनलाई लक्षित गरी ‘हामी तयार छौँ’ अभियान सञ्चालन गरिने जानकारी पनि दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया