सिमेन्ट उद्योगीहरूले आफूखुसी सिमेन्टको मूल्य बढाएका होइनन् : उद्योगमन्त्री भण्डारी 

लोकपथ
224
Shares

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सिमेन्ट उद्योगीहरूले आफूखुसी सिमेन्टको मूल्य नबढाएको दाबी गरेका छन् । 

मंगलबार राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति बैठकमा बोल्दै उद्योग मन्त्री भण्डारीले यस्तो बताएका हुन् ।

उनले उत्पादन लागतमा वृद्धिको साथै लोडसेडिङको कारण सिमेन्ट उद्योगीहरूले मूल्यवृद्धि गरेको उल्लेख गरे । उनले सांसदहरूले लोडसेडिङ छैन भने पनि प्राधिकरणले तालिका बनाएर उद्योगहरूलाई दिएको दाबी गरे ।

उद्योगमन्त्री भण्डारीले विद्युत् प्राधिकरण सरकार भन्दा बाहिरको निकाय नभएको बताए । उनले उद्योगको लागत मूल्याङ्कन गर्ने गरी समिति बनाएको उल्लेख गरे ।

उनले सरकारले सिमेन्टको मूल्यवृद्धि रोक्ने प्रयासले मूल्य वृद्धि घटेको बताए । उनले सरकारले उद्योग जोगाउने र मूल्य वृद्धि पनि नियन्त्रण गरी जनतालाई पनि राहत प्रदान गर्ने गरी काम गरिरहेको बताए ।

उनले घाटा खाएर कुनै पनि उद्योगले सिमेन्ट उत्पादन गरेर व्यापार नगर्ने बताए । सरकारले पटक–पटक उद्योगी,व्यवसायी र निर्माण व्यवसायीहरूसँग छलफल गरेको उल्लेख गरे । 

समितिमा उद्योगमन्त्री र सांसदहरुबीच दोहोरो संवाद समेत भएको छ । मन्त्रीले सिमेन्टको मूल्यवृद्धि लोडसेडिङको कारणले भएको भनेर समितिमा जानकारी दिएसँगै दोहोरो संवाद भएको हो ।

सांसदहरूले समितिले सिमेन्ट उद्योगीहरूले गरेको मूल्यवृद्धिलाई सघाउन नसक्ने मन्त्रीलाई जानकारी गएका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?