काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले सामाजिक विविधताभित्र सुदृढ र प्रगाढ एकताले नेपालको राष्ट्रिय भावनालाई थप मजबूत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।
वसन्त पञ्चमी तथा सरस्वती पूजा, २०८१ को उपलक्ष्यमा शुभकामना व्यक्त गर्दै उनले भूगोल, क्षेत्र, वर्ग र समुदायअनुसार चाडपर्वहरुमा विविधता रहेको उल्लेख गर्दै गणतन्त्रात्मक संवैधानिक व्यवस्था प्रणालीले बहुजाति, बहुभाषा, बहुसंस्कृति, बहु-वेशभूषा आदिलाई संरक्षण गर्दै सबै क्षेत्र, भूगोल, धर्म, समुदाय र संस्कृतिलाई परस्पर जोड्ने काम गरेको उल्लेख गरे ।
उपराष्ट्रपति यादवले भने, ‘वसन्त पञ्चमी पर्व माता सरस्वतीको आविर्भाव दिवसका रुपमा पनि मनाइन्छ, श्रीपञ्चमीका रुपमा मनाइने यो पर्व किसानसँग पनि जोडिएको छ, मधेसमा यस अवसरमा हलोको पूजा गर्ने र खेत किसानीमा सहयोग गर्नेहरुलाई सम्मान गर्ने परम्परा छ, यसले मौलिक संस्कृतिलाई जीवन्त बनाउन सहयोग पुग्दछ ।’ पछिल्लो समय सार्वजनिक पूजा पञ्डालहरुमा सरस्वती देवीको माटोको प्रतिमाहरु स्थापना गरी सामूहिक पूजा-अर्चना गर्ने संस्कृति र परम्परा लोकप्रिय हुँदै गर्दा उनले यसले ‘सामूहिकतामा एकता’ को मूल मर्मलाई प्रतिबिम्बित गर्ने विश्वास व्यक्त गरेका छन् ।
यस अवसरमा विद्या, ज्ञान, बुद्धि, कला र सङ्गीतको प्रतीकका रुपमा देवी सरस्वतीको पूजा–अर्चना गर्ने हिन्दु विधान र पौराणिक परम्परा रही आएको छ । शैक्षिक संस्थाहरुले नृत्य, गीत-सङ्गीतको विशेष आयोजना गर्दै विद्याको अधिष्ठात्री सरस्वती देवीको पूजा-अर्चना गर्छन् । यस अवसरमा किताब, कलम, कपी, वाद्य उपकरण आदिको पूजा गर्ने परम्परा पनि छ । यसले विद्या र सङ्गीत साधनामा प्रयोग हुने सामग्रीहरूलाई सबैले सम्मान गर्न सक्नुपर्दछ भन्ने सन्देश दिन्छ । आजको दिन अभिभावकहरुले आ-आफ्ना बालबालिकाहरुलाई विद्या अध्ययन प्रारम्भ (अक्षरारम्भ) पनि गराउने गर्दछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया