सहकारीमा रकम बचतको ग्यारेन्टी आजको आवश्यकता : सभापति देउवा

लोकपथ
35
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहकारीमा रकम जम्मा गर्नेहरूको रकमको ग्यारेन्टी हुनु आजको आवश्यकता भएको बताएका छन् । 

शनिबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन् ।  उनले वर्तमान अवस्थामा सहकारी क्षेत्रमा देखापरेका विभिन्न किसिमका विकृति, विसंगतिहरुको अन्त्य गर्न जरुरी रहेको बताए । 

उनले वास्तविक सहकारी आन्दोलनको विकास, बिस्तारका लागि सबै सहकारीहरू सहकारीको सर्वमान्य आधार, मूल्य, मान्यता र सिद्धान्तअनुसार सञ्चालन हुनुपर्छ भन्नेमा पार्टी प्रतिबद्ध रहेको बताए । 

उनले आम नागरिकहरूले दुःख कष्ट, मेहनत गरेर सहकारीमा जम्मा गरेको लाखौँ रकम सहकारी सञ्चालकले अपचलन र दुरुपयोग गर्दा बचत कर्ताहरू पीडित भएको बताए । सरकारले समयानुकूल सहकारीमैत्री ऐन, नियमहरूको व्यवस्था गर्नुपर्ने महसुस गरेर अध्यादेश ल्याएको बताए । उनले सहकारी आन्दोलनमा गुणात्मक सुधार हुँदा समग्र अर्थतन्त्रमा नै सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे । 

सभापति देउवाले नेपाली कांग्रेसले सहकारीको मर्म र भावनाअनुसार समाजका विभिन्न वर्गको जीवनस्तर उकास्न सहकारी आन्दोलनलाई आम नागरिक समक्ष पुर्‍याउन अभियानको रूपमा बिस्तार गर्न लागिपरेको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?