गोकुल जोशी
महेन्द्रनगर -‘एघार बर्षको उमेर हुँदा बुवाको स्वर्गवास भयो, घर परिवारमा कमाउने अरु कोहि थिएनन् । बुवाकै परिश्रमले धानेको थियो हाम्रो घर परिवार । बुवाको स्वर्गवास पछि आर्थिक अवस्था एकदमै कमजोर भयो । हामीलाई खान लाउन समेत गाह्रो हुँदै गयो ।’ यसो भनिरहँदा उनि निकै भावुक देखिन्थे । उनि अर्थात् पुर्ण साउद ।
*****
कञ्चनपुरका केरा कृषकहरुको लागि मात्रै नभएर विभिन्न पेशा, संघ–संगठन, राजनेता तथा व्यापारीहरुका लागि समेत परिचित र सफल नाम मानिन्छ, पुर्ण साउद । विगत २८÷३० बर्ष देखि निरन्तर केरा खेतीलाई नै सर्वश्व ठानि, केरासँग मितेरी गास्दै आएका साउद अहिले धेरैको प्रेरणाका स्रोत बनेका छन् ।
कञ्चनपुर सदरमुकाम महेन्द्रनगर भन्दा केहि दुरी टाढा तिल्केनीमा बुवाको परिश्रमले किनेको एक कट्टा जमिनमा पहिलो चोटि नौलो काम गरे उनले । गाउँका सबै छक्क परे । सबैले आ–आफ्नो जग्गा जमिनमा धान रोप्दै थिए । साउद ले केरा खेति गर्ने भन्दै केराका बोट रोपे । गाँउलेहरु भन्थे ‘राम्रै उब्जनी हुने खेतमा यो केटाले के गर्न खोजेको होला ।’
*****
कञ्चनपुर जिल्लामा केराको पकेट एरिया लागु भयो । एडिवीको सहयोगमा केराखती गर्न चाहनेहरुले मौका पाउने भए । उनले पनि विज्ञहरुको सुझाव, सल्लाह र केरा खेतीमा मनग्य आम्दानी गरेका उदाहरणहरु बुझे । अब इच्छा त जाग्यो तर जग्गा भएन । आफुसँग भएको एक कट्टा जमिनमा भए पनि केरा खेतीको सुरुवात नगरी बस्नै सकेनन् साँउद । उता गाँउलेहरु भने नानाथरी भनेर कुरा हावामा उडाउथे ।
घर खर्च चलाउन गाह्रो हुदै थियो । दुई छोरा र छोरीलाई राम्रो स्कुल पढाउन सक्ने आर्थिक स्थिति थिएन । साँउदसँग अन्य कुनै विकल्प पनि थिएन । अन्य खेती किसानीबाट भन्दा केराखेती बाट केहि प्रगति र आर्थिक अवस्था सुधार हुने आशाका किरणहरु मनमनै पलाउथे उनका । नभन्दै एक बर्षको परिश्रम पछि कमाई राम्रो नै भयो । झन् उनको आत्मबल बढ्दै गयो । केरा खेतीलाई उनले एउटा लक्ष्य बनाए ।
*****
लगातारको ५ बर्ष सम्मको मेहनतले साँउदलाई आफ्नो जीवनस्तर नै परिर्वतन भएको आभास भयो । ०६८/६९ मा जीमुवामा बिष्णुदत्त जोशीको ४ विघा जमिन भाडामा लिएर केरा खेती बढाउने प्रयत्नमा लागे उनि । एकै चोटी ठुलो परिमाणमा व्यवसाय गर्न खोज्दा, ‘ओभिओपी’को ‘एक गाँउ, एक उत्पादन’ कार्यक्रम र अन्य सम्बन्धित निकायहरुले समेत साँउदलाई सहयोग गरे । पाँच बर्ष सम्मको मेहनतबाट उनले राम्रो आम्दानी गरे । दश बर्ष अगाडि सामान्य घर खर्च चलाउन धौ धौ अवस्था रहेका उनि ६०/७० लाखको कारोबार गर्न थाले । आधुनिक व्यवसायीक केरा खेती नगरिकन परिक्षण कालमा नै साउदको जीवन झलमल्ल भयो ।

साउदको अध्यक्षतामा ०७१ सालमा जिल्ला स्तरिय ‘केरा उत्पादन तथा प्रर्वद्धन कृषि सहकारी संस्था’ स्थापना भयो । सहकारीमार्फत केरा खेती गर्न चाहने कृषकहरुलाई सहयोगका साथ प्रोत्साहन गर्न थाले उनि । साँउदले पदम सुवेदीको सहयोगमा केरा खेती सम्बन्धि ‘बुकलेट’ र ‘इलम हेल्भेटास’ को सहयोगमा एउटा केरा खेती सम्बन्धि पुस्तक समेत प्रकाशन गरेका छन् ।
हाल कञ्चनपुर र कैलालीका केरा कृषकहरुका लागि प्रेरणा र उर्जाका स्रोत बनेका छन साउद । कञ्चनपुरमा मात्रै उनको सहकारी र सहयोगको घेराभित्र ४ सय ६० केरा कृषकहरुले ३ सय ५० हेक्टरमा जमिनमा केरा उत्पादन गरिरहेका छन् ।

व्यवसायिक केरा खेती गर्ने कञ्चनपुरको पहिलो कृषक हुन, पुर्ण साँउद । हाल उनले भीमदत्त नगरपालिका–३ नौँलाखेतमा ५ बिघा जमिन भाडामा लिएर र भीमदत्त नगरपालिका– १० तिल्केनीमा आफ्नो लगभग २ विघा जमिनमा केराखेती गरिरहेका छन् । नौँलाखेतको ५ बिघा जमिनमा उनले नमुना बगौचा तवरको थोपा सिचाँई प्रणालीबाट व्यवसाय गरिरहेका छन् । साउदको केराखेती संगै कञ्चनपुरको कृष्णपुर र पुर्नवासमा पनि एक÷एक ओटो नमुना बगौँचाहरु छन् ।

केरा कृषक साँउदले केरा खेती कै सफलताबाट आफ्नो परिवारको आर्थिक, सामाजिक र मानसिक स्थिती अब्बल बनाएका छन् । आज भोली उनको अवस्था र व्यवस्था दुवै फेरिएको छ । जेठो छोरालाई २० लाख खर्च लगाएर फ्रान्स पढ्न पठाएका छन, भने १२ लाखमा कान्छो छोरालाई जापानमा पठाए । कञ्चनपुर र कैलालीका लागि केरा खेतीको प्रयावाची बनेका पुर्णले मुसुक्क हास्दै भने ‘छोरीलाई एयर होस्टेज पढाउँछु ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया