भक्तपुर । भक्तपुरको प्रसिद्ध नवदुर्गा देवगणको यस वर्षको वार्षिक जात्रा तालिका सार्वजनिक गरिएको छ । जात्रा आगामी मंसिर १० गतेदेखि सुरु हुने भएको छ ।
तालिकाअनुसार मंसिर १० गते बिहीबार भक्तपुर नगरपालिका–५ स्थित तलेजु मन्दिरमा ख प्याखँ प्रदर्शन गरेर जात्रा सुरु हुनेछ । जात्रा मंसिरदेखि चैतसम्म भक्तपुरसहित काठमाडौं र काभ्रेका विभिन्न स्थानमा सञ्चालन हुनेछ ।
जात्रा तथा मन्दिर व्यवस्थापन समितिका सल्लाहकार नारायणमान बनमालाका अनुसार पुस ९ गते मध्यपुरथिमिको दिगुटोलमा देवगणको आगमन हुनेछ । पुस १० देखि १५ गतेसम्म मध्यपुरथिमिका विभिन्न स्थानमा जात्रा प्रदर्शन गरिनेछ । त्यस्तै, पुस १७ देखि २१ गतेसम्म काठमाडौंको टोखा, गोकर्ण र चपली क्षेत्रमा जात्रा सञ्चालन हुनेछ ।
यसैगरी, पुस ३० देखि माघ ६ गतेसम्म भक्तपुरको सूर्यमढी, दत्तात्रय, क्वाठण्डौँ र गछें क्षेत्रमा जात्रा हुनेछ । माघ १५ देखि १८ गतेसम्म काठमाडौंको साँखु, माघ १९ र २० गते चाँगुनारायण तथा माघ २८ र २९ गते भक्तपुरको महालक्ष्मी क्षेत्रमा जात्रा सञ्चालन हुनेछ ।
फागुन महिनामा भक्तपुरका विभिन्न स्थानका साथै काभ्रेको साँगा र नालामा पनि जात्रा प्रदर्शन गरिनेछ । फागुन ६ र ७ गते साँगा तथा फागुन २८ देखि ३० गतेसम्म नालामा जात्रा हुनेछ ।
त्यसैगरी, चैत १ र २ गते धुलिखेल तथा चैत ३ गते काभ्रेको श्रीखण्डपुरमा जात्रा सञ्चालन हुनेछ । चैत २५ र २६ गते भक्तपुरको बालाखु क्षेत्रमा जात्रा प्रदर्शन गरेपछि यस वर्षको जात्रा सम्पन्न हुनेछ ।
नवदुर्गा देवगणको जात्रा भक्तपुरको महत्वपूर्ण सांस्कृतिक तथा ऐतिहासिक परम्पराका रूपमा परिचित छ । विभिन्न देवीदेवताको स्वरूपका मुकुण्डो लगाएका देवगणले नगर तथा विभिन्न बस्तीमा पुगेर नाच प्रदर्शन गर्ने चलन छ ।
दसैँका अवसरमा राष्ट्रपति दर्शन गर्न पुग्ने भक्तपुरको नवदुर्गा द्योछें (देवता घर) यसै परम्परासँग जोडिएको महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक स्थल हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया