नायिका रेखा थापा प्रदेश दुई सरकारको ‘बेटी पढाउ– बेटी बचाउ’ अभियानमा

जनकपुर । नायिका रेखा थापाले प्रदेश नम्बर दुईको सरकारले थाल्ने ‘बेटी पढाउ–बेटी बचाउ’ अभियानमा सघाउने भएकी छिन् । आज (बुधवार) प्रदेश नम्बर २ को सरकारले सो कार्यक्रमको उद्घाटन गर्दैछ ।

मुख्यमन्त्री कार्यालयले गरेको पत्रकार सम्मेलनमा बोल्दै नायिका थापाले यस अभियानलाई सफल बनाउन आफ्नो फाउन्डेसन ‘रेखा थापा फाउन्डेसन’ को अगुवाइमा पूर्ण रुपमा सहयोग गर्ने बताइन् ।

प्रदेश दुईको सरकारले चालेको यो अभियान आफूलाई निकै मन परेकाले मधेशकी छोरीचेलीलाई सचेत गराउन यो अभियानमा आफूले सहयोग गरेको रेखाले बताइन् । पत्रकार सम्मेलनमा बोल्दै रेखाले महिला केन्द्रित भई रुढीवादी परम्परा तथा गलत प्रवृत्तिलाई निर्मूल पार्न सबैलाई सकारात्मक भावनाले अगाडि बढ्नुपर्ने धारणा समेत राखिन् ।

उनले सपनाविहिन छोरी र निराश आमाहरुलाई यो अभियानले सहयोग पु–याउनेसमेत बताइन् ।

यस्तै पत्रकार सम्मेलनमा प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारको अभियानलाई नायिका थापाले सघाउने र प्रदेश सरकारको निगरानीमा रेखा थापा फाउन्डेसनको अगुवाइमा कार्यक्रम हुने जानकारी दिए । उनले रेखा थापाको सहयोगले यो अभियानलाई अझै फाइदा पुग्ने विश्वास समेत व्यक्त गरे ।

नायिका रेखा थापाले यसअघि चलचित्र ‘मालिका’ निर्माण गरेर महिला हिंसाविरुद्धको अभियानका बारेमा बोल्दै आएकी थिइन् । पछिल्लो समय उनी महिला हिंसाविरुद्धका अभियानमा सक्रिय छिन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?