तिहारले छोएन रानी पोखरीलाई, पुर्ननिर्माणको नाममा करोडौं खर्च तर यस्तो विजोग

वि.सं. २०७२ वैशाख १२,

नेपाल ।

७.८ रेक्टर स्केलको विनाशकारी भूकम्प ।

भुकम्पले ९ हजार जना भन्दा धेरैको ज्यान लियो ।

हजारौँ अंगभंग भए ।

लाखौँ घरहरुविहिन बने । 

निरन्तर आईरहेका पराकम्पको दिईरहने त्रासलाई थाती राखेर समेत नागरिकले आफ्ना आवास  बनाए ।

****

तर नेपालका सांस्कृति सम्पदा अनि ऐतिहासिक धरोहरहरु यो वा त्यो  बहानामा बनेका छैनन् । 

दुखको कुरा त १७ औँ शताब्दीमा निर्माण गरिएको आफैमा एउटा इतिहास बोकेको रानी पोखरी चौथो वर्ष पनि भाईटिका लगाउन मिल्ने बनेन ।

सर्वसाधारण हुन् या सेलिब्रेटी आफ्ना दाजुभाई र दिदी बहिनी नहुनेहरुले एउटा पवित्र साईनो खोज्ने स्थान हो,  काठमाडौँको रानी पोखरी ।

काठमाण्डुको जमलस्थित रानीपोखरीको बीचमा रहेको मन्दिरमा बसेर दिदीबहिनी नहुने र दाजुभाई नहुने दिदीबहिनीले माया र आत्मियता साटेर टिका थाप्ने गरेका थिए । तर भूकम्प गएको ४२ महिना बितिसकेको छ ।  

तर नेपालकै ऐतिहासिक रानी पोखरी पुर्ननिर्माण हुन सकेको छैन ।

राष्ट्रिय धरोहर मानिएको रानी पोखरीको संरचना ३ वर्ष ६ महिनादेखि धूलो र झारले रुपहीन बनेको छ ।

त्यसको भग्नावशेषलाई हेर्दा आफ्नो इतिहास नै गर्लम्म ढलेजस्तो लाग्छ ।

भूकम्पअघि वर्षमा एक दिन भाइ टीकामा मात्र खुल्ने रानी पोखरी अहिले भने वरिपरिबाट पालले छोपेर राखिएको छ । पोखरीमा पानीको साटो ‘झार’ भेटिन्छ ।

२०७२ सालदेखि रानी पोखरीलाई तिहार लागेको छैन । पोहोर साल भत्किएको राजनीपोखरीको आडमा बसेर धेरै दाजुभाई दिदीबहिनीले टिका लगाएका थिए । यसपाली पनि त्यसको विकल्प छैन । तर रानीपोखरी पुर्ननिर्माणका लागि करोडौं रुपैयाँ खर्च भइसकेको छ । 

 ध्वस्त भइसकेको रानी पोखरीलाई कस्तो अवस्थामा निर्माण गर्ने भन्ने विवाद उत्पन्न भएपछि यसको निर्माण कार्य ढिलो भयो । ढिला मात्रै होईन यो वा त्यो कारण देखाउँदै अझै अन्यौलमा छ ।

पुरातत्त्व विभाग र काठमाडौं महानगरपालिकाको विवादले झन् कमजोर बन्दै गएको रानीपोखरीका केही तस्वीर लोकपथकर्मी सरोज घिमिरेले क्यामरामा कैद गरेका छन्ः

एउटा अर्को प्रसंग जसले तपाईलाई झस्काउँछ ।  

सन् २०११ मार्च ११,

जापान ।

९ रेक्टर स्केलको विनाशकारी भूकम्प र सुनामी ।

सो भूकम्पले जापानलाई ठूलो जनधनको क्षति पुर्यायो । भवन र सडकहरु तहसनहस भए ।

तर, भूकम्प गएको ६ दिनपछि ती सडक जस्ताको तस्तै भइसकेका थिए ।

भूकम्पका कारण इबाराकी भन्ने ठाउँको सडकमा १ सय ५० मिटरसम्मका चिरा र खाल्डाहरु परे ।

यसले सर्वसाधारणको आवतजावत र दैनिकीमा प्रभाव पारेपछि जापान सरकारले मात्र ६ दिनमा सडकको पुनर्निर्माण गरिसकेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?