जन्मदिनमा बोलाएर सामूहिक बलात्कार

मोरङ– पथरीशनिश्चरे नगरपालिकामा एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ । साथीको जन्मदिनमा जाँदा १३ वर्षीया किशोरी बलात्कृत भएकी हुन् ।

जन्मदिनमा बोलाएकी साथीकै सहयोगमा बलात्कार भएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।

प्रहरीले बलात्कार आरोपमा पीडितकी साथीलगायत तीन जनालाई नियन्त्रणमा लिएको छ । पथरीशनिश्चरेमा अरूको संरक्षणमा बस्दै आएकी किशोरीलाई मंगलबार साथीले जन्मदिनको अवसरमा बोलाएको प्रहरी निरीक्षक कमल बजगाईंले बताए ।

‘कक्षा ६ मा अध्ययनरत किशोरी साथीको जन्मदिन मनाउन उनको घर पुगेपछि गाउँबाट टाढा जंगलमा रहेको मन्दिरमा पूजा गर्न गएका थिए,’ उनले भने, ‘मन्दिरमा पूजा गरी जन्मदिन मनाउने क्रममा किशोरीलाई घरेलु मदिरा खुवाएर दुई जनाले रातभर बलात्कार गरेको जाहेरी संरक्षकले दिएका छन् ।’ बलात्कार आरोपमा पीडितकी साथी १५ वर्षीया किशोरी, पथरीशनिश्चरे १ का २२ वर्षीय मनोज राई र वडा ९ का २३ वर्षीय राजकुमार माझीलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको उनले बताए ।  कान्तिपुर दैनिकमा खबर छापिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?