गीतमा भनेजस्तै जेलजीवन नै बिताइरहेकी छिन् त विष्णु माझी ?

‘जेलैमा हो जेलैमा चरी जेलैमा’
पछिल्लो समय अधिकांश नेपालीहरूले गुनगुनाइरहेको गीत हो यो । हरितालिका तीजको अवसर पारेर सार्वजनिक भएको यो गीतले सार्वजनिक भएदेखि नै राम्रो चर्चा पायो । सामाजिक सञ्जाल फेसबुक, ट्वीटर र टिकटकलगायतमा यो गीत निकै चर्चामा रहेको छ ।

गुमनाम रहेकी भनिएकी गायिका विष्णु माझीको स्वर रहेको उक्त गीत लोकप्रिय बनेपछि फेरि एक पटक उनको बारेमा चर्चा चुलिएको छ । धेरैले उनको यो गीत आफ्नै जीवनमा आधारित रहेको भन्ने गरेका छन् ।

विवाहपछि माझीलाई उनका श्रीमानले नजरबन्धमा राखेको भन्ने कुरा फेरि ब्युँतिएको छ ।

यतिबेला मानवअधिकार आयोगले विष्णु माझीप्रति चासो देखाएको छ । आयोगले पत्र काटेर जिल्ला प्रशासन कार्यालय स्याङ्जालाई पठाएपछि जिल्ला प्रहरी कार्यलय स्याङ्जाका प्रमुख एवं एसपी होविन्द्र बोगटीले प्रहरी टोली उनको माइतीमा पठाएका थिए ।

‘प्रशासन कार्यालयबाट पत्र आएपछि हामीले विष्णु माझीको माइतीमा उनको अवस्थाबारे बुझ्न टोली परिचालन गरेका थियौँ । घरमा कोही पनि रहेनछन् । वरपर छिमेकमा सोध्दा पनि कुनै जानकारी पाउन सकिएन’, एसपी बोगटीले लोकपथलाई बताए ।

अपहरण वा शरीर बन्धकसम्बन्धी यस्तो छ कानुन : 

त्यस्तै, “(२) उपदफा (१) को प्रयोजनको लागि कसैले कुनै व्यक्तिलाई निजको मञ्जुरीबिना वा बालबालिका र होस ठेगान नभएको व्यक्ति भए निजको आमा, बाबु वा संरक्षकको मञ्जुरीबिना बल प्रयोग गरी वा सोको धम्की दिई, डर त्रास देखाई, जोर जुलुम गरी, हातहतियार देखाई वा नदेखाई छलकपट गरी, झुक्यानमा पारी, नशालु वा मादक पदार्थ सेवन गराई, यातायातको साधन वा रहे-बसेको ठाउँ कब्जा गरी वा नियन्त्रणमा लिई थुनामा वा नियन्त्रणमा राखेमा शरीर बन्धक लिएको मानिनेछ ।”

“(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि मानसिक रूपमा अस्वस्थ व्यक्तिलाई निजको बाबु, आमा वा संरक्षकको मञ्जुरी लिई असल नियतबाट सम्बन्धित व्यक्तिको हितको लागि उपचार गर्ने क्रममा वा अन्य कुनै प्रयोजनका लागि कसैको निगरानी वा नियन्त्रणमा राखिएकोमा शरीर बन्धक लिएको मानिने छैन ।”

 

पीडित आफैँले म पीडित छु भनेर उजुरी दिएको खण्डमा थप अनुसन्धान अघि बढाउन सकिने मानवअधिकार आयोगका प्रवक्ता टीकाराम पोखरेल बताउँछन् ।

२०७५ सालमा पनि विष्णु माझीको बारेमा जिल्ला प्रशासनले चासो दिएको थियो । स्याङ्जाकै प्रमुख जिल्ला अधिकारीले विष्णु र उनका श्रीमानलाई कार्यालयमै बोलाएर सोधपुछ गरेका थिए । २०७५ साल पुस २ गते विष्णु माझी र उनका श्रीमान सुन्दरमणि अधिकारी जिल्ला प्रशासन कार्यालय हाजिर भएका थिए ।

सोधपुछका क्रममा विष्णु माझीले आफूमाथि श्रीमानबाट कुनै किसिमको गलत व्यवहार नभएको बताएकी थिइन् । त्यसपछि विष्णु माझीको चर्चा सेलाएको थियो ।

विष्णु माझी कतै पनि सार्वजनिक रूपमा देखा पर्ने गरेकी छैनन् । आफ्ना समकक्षी अरु कलाकारसँग भेटघाट गर्दिनन् । गीत गाउन स्टुडियो आउँदा समेत घुम्टोले पूरै अनुहार ढाकेर आउनेगरेकी छिन् ।

उनको चरी जेलैमा गीतको सुटिङमा उनी आएको भिडियो सार्वजनिक भएको थियो । त्यसमा उनले अनुहार छोपेर आएकी थिइन् । स्टुडियोमा पनि कोठा अँध्यारो बनाएर गीत गाउने गरेकी छिन् ।

गुगलमा विष्णु माझीको तस्बिर खोज्ने हो भने एउटा मात्रै भेटिन्छ । लगभग १५ वर्षभन्दा लामो समयदेखि उनको सोही एक तस्बिर प्रयोग हुने गरेको छ । उनले गाएका हरेक गीतहरूमा उनको सोही तस्बिर मात्रै भेटिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?