जो विवादमा तानिए

रामजी बलामी/ काठमाडौं- वर्ष २०७७ लाई बिदाई गर्दै हामी नयाँ वर्ष २०७८ मा आइपुगेका छौं । यतिवेला हामी वितेको वर्षको समीक्षा र नयाँ वर्षको संकल्प गर्दैछौं । वर्ष ०७७ मा विभिन्न क्षेत्रका थुप्रै व्यक्तिहरु आलोचित बने।

कतिपय कामले गर्दा त कतिपय आफ्नो गलत अभिब्यक्तिले गर्दा विवादमा तानिए । संचारक्षेत्रले उनीहरुका गलत कर्मलाई सार्वजनिक गरिदियो । सामाजिक संजालमा उनीहरु आलोचित बने । हाम्रो स्मरणमा अझै ताजै रहेका ती ब्यक्तिहरु थिए,

झलनाथ खनाल

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल पनि विवादमा तानिए ।  सर्लाहीको लालबन्दी नगरपालिका–६ मा स्थापना भएको ‘झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान’ लाई सङ्घीय, प्रदेश नं २ सरकार र लालबन्दी नगरपालिकाले ७२ करोड रुपैंया अनुदान उपलब्ध गराउन लागेपछि नेता खनालको विरोध भएको हो । प्रतिष्ठानलाई सरकारले सर्प पालन एवं एन्टी स्नेक भेनम उत्पादन परियोजनाका लागि उक्त रकम उपलब्ध गराउन लागेको थियो ।

पूर्वप्रधानमन्त्री समेत रहेका खनालले ०७० को संविधानसभाको चुनाव सर्लाहीबाट पनि लडेका थिए । नेता खनालको चुनावी प्रचारप्रसारका क्रममा विषालु सर्पले टोकेर उपचार नपाई एकजनाको मृत्यु भएको थियो । त्यही घटनाबाट उत्प्रेरित भई नेपालमा सर्प पालन गर्ने र एन्डी स्नेक भेनम बनाउने मुख्य उद्देश्य राखेर ०७१ मा झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएको थियो ।

विजयकुमार गच्छदार

पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार पनि यो वर्ष विवादमा तानिए ।  बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्न संलग्न रहेको अभियोगमा पूर्वउपप्रधानमन्त्री गच्छदारसहित १७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भयो ।

गच्छदारलाई विशेष अदालतले पटकपटक म्याद तामेलीका लागि पठाउँदा पनि उपस्थित नभएपछि उनी आलोचित बनेका हुन् । उनलाई २३ फागुनमा तेस्रो पटक म्याद पठाइएको थियो । गच्छदारविरुद्ध ९ करोड ६५ लाख बिगो मागदाबी गरिएको छ । ०४८ देखि निरन्तर चुनाव जित्दै आएका गच्छदार १३ पटक मन्त्री, ५ पटक उपप्रधानमन्त्री भईसकेका ‘हाइप्रोफाइल’ कांग्रेस नेता हुन् ।

सरिता गिरि

वर्ष ०७७ मा निकै आलोचना खेपेकी व्यक्ति हुन्, सरिता गिरी । नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नक्सा जारी गर्दै सरकारले दर्ता गरेको संविधान संशोधन प्रस्ताव विरुद्ध गिरिले संशोधन प्रस्ताव दर्ता गराएकी थिइन् । त्यसवेला उनले दिएको अभिव्यक्ति र उनको कदमको चौतर्फी आलोचना मात्रै भएन भौतिक आक्रमणको चेतावनी समेत दिइएको थियो ।

ह्विप विपरित संशोधन प्रस्ताव दर्ता गराएपछि तत्कालीन समाजवादी पार्टीले उनलाई सांसद र पार्टी दुवैबाट निष्काशित गरेको थियो । पार्टीको निर्णय विरुद्ध गिरिले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो । उनी अहिले तराई मधेश बृहत लोकतान्त्रिक अभियान गठन गरेर राजनीतिमा सक्रिय छिन् ।

रघुजी पन्त

विवादमा तानिएका अर्का व्यक्ति हुन्, नेकपा एमाले खनाल नेपाल समूहका नेता रघुजी पन्त । उनीविरुद्ध राष्ट्रिय सभाकी सदस्य तथा कलाकार कोमल वलीले जिल्ला अदालत काठमाडौंमा मानहानीको मुद्दा दायर गरेकी छन् ।

नेता पन्तले १५ फागुनको एक सार्वजनिक कार्यक्रममा बोल्दै नेकपामा धेरै त्याग गरेका नेताहरुले टिकट नपाएको तर कोमल वलीले पिडौँला देखाएर ‘पोइल जान पाम’ भन्दै गीत गाएपछि  सांसद पद पाएको भन्दै टिप्पणी गरेका थिए । चर्काे विरोधपछि नेता पन्तले माफी मागेका थिए।

रामकुमारी झाँक्री

नेकपा एमाले खनाल नेपाल समूहकी नेतृ रामकुमारी झाँक्री पनि यो वर्ष विवादित बनिन्। प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटनको कदमविरुद्ध कडारुपमा प्रस्तुत भएकी उनले १७ माघको आफ्नो सम्वोधनका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकामाथि तल्लोस्तरको टिप्पणी गरेपछि उनी पक्राउ समेत परिन् ।

राज्यविरुद्ध कसुर गरेको आरोपमा पक्राउ परेकी उनी ५ घण्टापछि रिहा भएकी थिइन्।

विद्यासुन्दर शाक्य

खुलामञ्चमा चलिरहेको निःशुल्क खाना अभियानमा रोक लगाएपछि काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यको चर्काे विरोध भयो । लकडाउनले दुई छाक तार्न धौ धौ भएका सर्वसाधारणलाई विभिन्न संघसंस्थाले निःशुल्क खाना खुवाउँदै आएका थिए ।

महानगरले भने खुलामञ्चमा खाना खुवाउँदा शहरको शोभा बिग्रेको भन्दै  खाना खुवाउने भए पार्टी प्यालेसहरुमा खुवाउन आग्रह गरेको थियो। चर्काे विरोधपछि नगरप्रमुख शाक्यले पत्रकार सम्मेलन नै गरी महामारीका कारण खान नपाएका कोही पनि महानगरवासी भए सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्न आग्रह गरेका थिए । यसका साथै मेयर शाक्य सोल्टी होटलको आइसोलेशनमा बसेको विषयले पनि उनलाई आलोचित बनायो ।

सर्वेन्द्र खनाल

वर्ष ०७७ मा विवादित बनेका अर्का व्यक्ति हुन्, पूर्व प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल । खनालसहित तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदहरु महेश बस्नेत र किसान श्रेष्ठले पूर्वमन्त्री एवम् जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई महोत्तरीबाट काठमाडौं ल्याएका थिए ।

डा. यादवलाई अपहरण गरी काठमाडौं ल्याइएको भन्दै उनीहरुबिरुद्ध सरकारी वकिलको कार्यालय काठमाडौंमा जाहेरी समेत दर्ता भएको थियो । उनीहरुले आपूmहरु निर्दोष रहेको दावी गर्दै मानवअधिकार आयोगमा पत्र दर्ता गराएका थिए ।

सुलभ अग्रवाल

किर्गिस्तानका लागि नेपालका तत्कालीन अवैतानिक महावाणिज्य दूत तथा व्यवसायी सुलभ अग्रवाल वर्षको सुरुवातमै विवादमा तानिए । कुटनीतिक नम्बर प्लेटको २०९–एचसीसी–१ नम्बरको कारमा ६७ थान थर्मोगन लिएर प्रतिगोटा १५ हजारका दरले १० लाख रूपैयाँमा बेच्न लागेको अवस्थामा २५ चैत ०७६ मा अग्रवाल पक्राउ परे ।

अग्रवाललाई जिल्ला न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले गत १८ वैशाखमा २५ लाख ५० हजार रुपैयाँ धरौटीमा रिहा गरेको थियो । रिहा लगतै सम्पत्ति शुद्धीकरण अनुसन्धानलका लागि उनी पुनः पक्राउ परे । विभागले आवश्यक बयान लिएर उनलाई तारेखमा छोडेको थियो । शंकर ग्रुपका मालिक तथा जगदम्बा स्टिल्स र सिमेन्टका सञ्चालक समेत रहेका अग्रवालको पक्राउ प्रकरणले व्यवसायिक जगतमा ठूलै तरङ्ग सिर्जना गर्यो ।

दीपा श्री निरौला

वर्ष ०७७ मा नायिका दीपाश्री निरौला पनि आलोचनाको सिकार बनिन् । एक टेलिभिजन अन्तर्वार्ताका क्रममा अभिनेत्री एवं निर्देशक निरौलाले राजेश हमाललाई ‘उहाँ महानायक हो र !’ भन्दै टिप्पणी गरेपछि उनी विवादमा तानिएकी हुन् । चर्काे आलोचना भएपछि उनले भिडियो सन्देश नै जारी गरेर आफूले त्यसो भन्न नखोजेको भन्दै माफी मागेकी थिइन् । यस विषयमा हास्य कलाकार दीपकराज गिरीलाई समेत जोडेर सामाजिक सञ्जालमा व्यापक आलोचना भएको थियो ।

दीपाश्री विरुद्ध निकै तल्लोस्तरबाट गालीगलौच भएपछि महानायक हमालले फेसबुक लाइभ मार्पmत उनलाई माफी दिन आग्रह गरेका थिए । दिपाले भनेका कुरालाई आफूले नजरअन्दाज गरेको बताउँदै उनले संयम बन्नका लागि शुभेच्छुकलाई आग्रह गरेका थिए। हमालले फराकिलो हृदय बनाएर दीपाश्रीप्रति मानवता देखाइदिन आग्रह गरेका थिए।

स्वेता खड्का

वर्ष ०७७ मा विवादमा तानिएकी अर्की व्यक्ति हुन् अभिनेत्री स्वेता खड्का । यसै वर्ष वैवाहिक सम्वन्धमा गाँसेकी उनीमाथि विवाहमा अनावश्यक खर्च गरेको, डिस्को गएर झगडा गरेको तर काभ्रेमा निर्माणाधिन एकीकृत माझी बस्ती सम्पन्न नगरेको आरोप लागेको थियो ।

यद्यपि अभिनेत्री श्वेताले भने बस्ती निर्माणका क्रममा आफूले आर्थिक हिनामिना गरेको भन्ने आरोप प्रमाणित भए जुत्ताको मालासहित कालो मोसो दलेर माझी बस्ती परिक्रमा गर्न तयार रहेको बताएकी थिइन् । फेसबुकमा स्टाटस लेख्दै उनले श्वेताश्री फाउण्डेसनको नाममा उठेको रकमको हिसाव किताव पारदर्शी भएको र वस्तीका केही व्यक्तिहरुले नशाको सूरमा गलत प्रचार गरेको बताएकी थिइन् । यस्तै अभिनेत्री सुष्मा कार्कीले आपूmलाई कुटपिट गरेको भन्दै उजुरी गरेपछि श्वेता थप विवादमा तानिएकी थिइन् । श्वेताले भने यस घटनामा आपूm संलग्न नै नभएको दाबी गरेकी थिइन् ।

वर्षा राउत 

वर्ष ०७७ मा अभिनेत्री वर्षा राउत पनि विवादमा तानिइन् । अभिनेत्री राउत नेपाल भारत सीमाबारे विवादास्पद अभिव्यक्ति दिएर विवादमा तानिएकी हुन् । नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुराको विषयमा भारत र नेपाली संचारमाध्यममा आईरहेको समाचार र फेसबुक स्टाटसहरुप्रति इगित गर्दै उनले दुवैदेशका पत्रकारहरु मिलेर झगडा बढाइरहेको भन्दै टिप्पणी गरेकी थिइन् । उनले भनेकी थिइन्, ‘मेरो भारतीय साथीहरुसँग मैले कसरी फेस गर्ने ? र, मेरा भारतीय साथीहरुले मसँग कसरी फेस गर्ने भइरहेको छ।’

यो अभिव्यक्तिपछि सामाजिक सञ्जालमा उनीविरुद्ध चर्काे आक्रोश पोखिएको थियो । त्यसपछि अभिनेत्री राउतले माफी मागेकी थिइन् । उनले आफू भावुक स्वभावकी भएको उल्लेख गर्दै अब आइन्दा यसरी बोल्दा हेक्का राख्ने वाचा गरेकी थिइन्।

यो पनि

जसले हामीलाई गुन लगाए

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?