जसले हामीलाई गुन लगाए (भिडियो रिपोर्ट सहित)

रामजी बलामी/काठमाडौं- हामी वर्ष ०७७ को बिदाई र नयाँ वर्ष ०७८ को पर्खाइमा छौँ । यो वर्ष थुप्रै राजनीतिक तथा सामाजिक उतारचढावहरु भए । यिनै घटनाक्रम सँगसँगै कतिपय व्यक्तिहरु आफ्नो असल कर्मका कारण समाचारमा छाईरहे । समाजले पनि सम्मान दियो, दिएकै छ । त्यसमध्ये लोकपथले ११ व्यक्तिलाई छान्यो, जसले उत्कृष्ट काम गरेर समाजलाई गुन लगाए।

सलामयोग्य ती कर्मवीर।

महावीर पुन

वर्ष ०७७ मा राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनको योगदान अविस्मरणीय रह्यो । यो वर्ष उनको अधिकांश समय कोरोनाविरुद्धका सामाग्री बनाउँदै बित्यो । ‘एसियाको नोबेल पुरस्कार’ मानिने म्यागसेसे पुरस्कार विजेता पुनले यो वर्ष विभिन्न १३ थरिका कोरोनाबिरुद्धका सामग्रीहरु तयार पारे।

उनले करिव ३० हजार सेट पीपीई उत्पादन गरी ५९ जिल्लाका स्वास्थ्य संस्थाहरुमा निःशुल्क वितरण गरे । यस्तै उनकै नेतृत्वमा रहेको टिमले प्रतिगोटा एक सय रुपैंया पर्ने २३ हजार फेससिल्ड उत्पादन गरी निःशुल्क वितरण ग-यो । कोरोना संक्रमण बढेसँगै कोरोनाविरुद्धको विभिन्न सुरक्षाकवजको माग बढ्यो । त्यसलाई उनले अवसरका रुपमा सदुपयोग गर्दै प्रतिगोटा झण्डै ७० हजार रुपैंया लागत पर्ने ६५ वटा स्वाब संकलन बाकस निर्माण गरे । उनले संक्रमित बिरामीलाई सुताएर राख्ने ४५ वटा ‘एरोसोल’ बक्स निर्माण गरे।

पुनको समूहले काठमाडौंका विभिन्न अस्पतालमा बिग्रिएर थन्किएका ३३ वटा भेन्टीलेटर र १८ वटा किड्नी डायलसिस मेसिन मर्मत ग-यो । यही अवधिमा उनको समूहले नयाँ भेन्टीलेटर समेत निर्माण गरेको छ, जुन क्लिनिकल ट्रायलको चरणमा पुगेको छ । यति मात्रै होइन आविस्कार केन्द्रले मृतकको शव राख्ने ५५ वटा ‘डेड बडी’ ब्याग पनि बनायो ।

यस्तै उनले आईसीयू डाक्टरले लगाउने एक सय वटा एयर प्युरिफाइङ रेस्पिरेटर मास्क पनि बनाए । यस्तै गरी भेन्टिलेटरमा राख्ने बिरामीका लागि चाहिने करिव २ सय वटा हुड निर्माण गरे ।

पुनको आविष्कार यतिमै रोकिएन । कोरोना संक्रमितको कक्षमा औषधि पु-याउने ८ वटा रोबोट समेत निर्माण गरे । संक्रमित बिरामीलाई अलगै राखेर हेलिकप्टर वा एम्बुलेन्सबाट ओसारपसार गर्न सकिने आइसोलेसन च्याम्बर पनि उनले निर्माण गरे ।

म्याग्दीको नाँगीमा जन्मिएका ६६ बर्षिय पुनको यो सक्रियताले कोरोना नियन्त्रणमा ठूलो मद्धत मिल्यो ।

मुस्कान खातुन र उज्वल थापा

वीरगन्ज छपकैयाकी मुस्कान खातुन एसिडपीडित हुन् । प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै १५ वर्षिय खातुनमाथि स्कुल जाने क्रममा एसिड आक्रमण भएको थियो ।

सात महिनासम्म अस्पतालमा बसेर उपचार गरेकी उनले पछिल्लो समय एसिड आक्रमण गर्नेलाई कडा कारबाहीको ब्यवस्था गर्न आवाज उठाउँदै आएकी छन् । एसिड पीडितहरुको न्यायका लागि उनले चालेको पहलकदमीको कदर गर्दै अमेरिकी विदेश मन्त्रालयले मुस्कानलाई ‘इन्टरनेसनल वुमन अफ करेज’ बाट सम्मान गरेको थियो ।

यो अवार्डबाट सम्मानित हुने मुस्कान पहिलो नेपाली हुन् भने अहिलेसम्मकी सबैभन्दा कान्छी विजेता पनि हुन्।

मुस्कानलाई यस अभियानमा साथ दिँदै आएका छन्, लामो समयदेखि एसिड आक्रमणविरुद्ध लागिपरेका अभियन्ता उज्वल थापाले । उनीहरुको मागलाई सम्वोधन गर्दै सरकारले एसिड आक्रमण गर्ने र एसिड बिक्रिवितरण गर्नेविरुद्ध कडा कानूनी व्यवस्था ल्याएको छ । जस अनुसार अब एसिड आक्रमण गर्नेलाई २० वर्षसम्म जेल सजाय र १० लाख रुपैंयासम्म जरिवानाका साथै पीडितलाई क्षतिपूर्ति दिनुपर्नेछ ।

डा. शेरबहादुर पुन

वर्ष ०७७ मा सर्वाधिक चर्चा पाउने अर्का व्यक्ति हुन्, डा. शेरबहादुर पुन । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा क्लिनिकल रिसर्च युनिटका संयोजकसमेत रहेका डा.पुनले यो वर्षभरी नै कोरोना भाइरसबाट जोगिनका लागि महत्वपूर्ण जनचेतना फैलाए।

कोरोनाको भ्रम, यथार्थ र सरकारी प्रयासका विषयमा सामाजिक सञ्जाल तथा अनलाइनहरुमा आफ्नो धारणा राख्दै आएका सरुवा रोग विशेषज्ञ डा. पुनलाई जथाभाबी बोलेको भन्दै सरकारले स्पष्टिकरण समेत सोधेको थियो ।

सर्वसाधारणमाझ निकै लोकप्रिय डा. पुनलाई स्पष्टीकरण सोधिएपछि सरकारको चौतर्फी आलोचना भयो । सन् २००२ मा मेडिकल अफिसरका रुपमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा प्रवेश गरेका डा. पुन अहिले पनि सोही अस्पतालमा कार्यरत छन् ।

डा. रुना झा

कोरोना भाइरसले आक्रान्त बनेको वर्ष ०७७ मा यसको रोकथाम तथा नियन्त्रणका लागि फ्रन्टलाइनमा क्रियाशिल डा. रुना झाको योगदान प्रशंसनीय बन्यो । कोरोनाको ठूलो डर र त्रासलाई पन्छाएर कोभिड १९ को परिक्षणका लागि फिल्डमा होमिएकी डा. झाको प्रशंसा गर्दै संयुक्त राष्ट्रसंघ अन्तर्गतको यूएन वुमेनले एउटा रिपोर्ट समेत प्रकाशन गरेको थियो।

कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि फ्रन्टलाइनमा बसेर उत्कृष्ट काम गर्ने विश्वभरका ५ महिलाको कथा समेटिएको उक्त रिपोर्टमा नेपालबाट डा. झा छनौटमा परेकी हुन् । उनीसँगै चीनकी यान सेङलियान, जोर्डनकी अमाल अल महायरा र हदिल दबाइबेह, कजाकिस्तानकी डिना स्माइलोभा र एन्टीगुआकी रायान्सिया हेनरीको प्रेरक कथा प्रस्तुत गरिएको छ ।

डा. झा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुको निर्देशक हुन् । नेपालमा कोरोना परीक्षणको नेतृत्व उनले नै गरिरहेकी छन् । चीनबाट १७५ जना नेपाली विद्यार्र्थीलाई उद्धार गरेर ल्याउँदा सर्वत्र त्रास थियो तर उनको टिमले निर्धक्क परिक्षण गरे जसको चौतर्फी वाहवाही भएको थियो।

निर्मल पूर्जासहितको टीम

वर्ष ०७७ मा देशको शिर उच्च पार्ने अर्का नेपाली हुन्, निर्मल पूर्जा । ३ माघमा उनको नेतृत्वमा रहेको १० जनाको समूहले अत्यन्तै खतरनाक मानिने पाकिस्तानको के टू हिमालको सफल आरोहण गरेर विश्व रेकर्ड कायम ग-यो  । यो हिमालमा हिउँदयाममा अहिलेसम्म कसैले पनि सफल आरोहण गरेका थिएनन्।

के टू हिमालको सफल आरोहण गर्नेहरुमा आरोही निर्मल पूर्जासहित मिङ्मा डेबिट शेर्पा, मिङ्मा तेन्जी शेर्पा, ग्याल्जेन शेर्पा, पेम चिरी शेर्पा, दावा तेम्बा शेर्पा, मिङ्मा जी, दावा तेन्जिङ शेर्पा, किलु पेम्बा शेर्पा र सोना शेर्पा रहेका छन् । यी मध्ये मिङ्माजी शेर्पाले अक्सिजनबिना आरोहण गरेका थिए ।

आठ हजार ६ सय ११ मिटर अर्थात् विश्वकै दोश्रो अग्लो यो हिमालको आरोहणका लागि विगत ३४ वर्षयताको हिउँदयाममा कम्तीमा चारवटा आरोहण दलका दर्जनौँ आरोहीले प्रयास गरेका थिए । तर उनीहरू के टू हिमालको सात हजार मिटरभन्दा माथिको उचाइमा पुग्न सकेका थिएनन् ।

सन्तोष साह

वर्ष ०७७ मा नेपालको नाम विश्वभर चिनाएका अर्का नेपाली हुन्, सेफ सन्तोष साह । पाककलाका उस्ताद सन्तोष यो वर्ष ‘बिबिसी मास्टर सेफ प्रोफेसनल्स् युके’ को उपविजेता बने। विश्वभरबाट सहभागि करिव तीन दर्जन सेफहरूकाबीच उनी उपविजेता बनेका हुन्।

प्रतिस्पर्धाका क्रममा उनले सिस्नुको तरकारी, बेथेको साग, योमरी, गुन्द्रुक, मकैको रोटी, भाङको अचार, भैँसीको मासु, मःम, खोले साग, ऐला, पुरी, भुटेको खुर्सानी र नुन, बासी भात शैलीमा भुटेको चिउरा र गंगटाको तरकारीको बनाएका थिए ।

यसैगरी उनले अन्जिर र अदुवा भरेको चिप्ले भिन्डी, आँप र नरिवलको चटनी, आलु, मेथी र अनारको सलाद, जिम्बु मोलेको पोलेको खसीको मासु जस्ता परिकार पस्केका थिए।

उनले रायोको साग, पुदिना परौठा, साँधेको भटमास, पुरी, गंगटाको करी, कोदोको खिर, आँपको कुल्फी, ‘अमोट’, काँक्रोको भुटेको बियाँ, वन तरुल, कटहरको भुटेको बियाँ, प्याजको अचार, स्याउको चटनी बनाएका थिए।
उनले कर्कलोको पात, बेथेको साग, गहुँको रोटी, तामाको अचार, पोलेको माछा, आलुको अचार, करेला र टमाटरको चटनी तथा घोङ्गीभित्र आलुको अचार जस्ता परिकारहरु बनाएर निर्णायकको मन जितेका थिए।

करिब ५ सातादेखि चलेको तीव्र प्रतिस्पर्धामा सन्तोषले नेपाली परिकार मात्रै होइन नेपाली भेषभूषा एवं संस्कृति समेत प्रस्तुत गरे । १० वर्षको उमेरदेखि काम गर्न थालेका उनीसँग प्लास्टिकको झोला बेच्नेदेखि पाउरोटी किनेर बेचेको समेत अनुभव छ ।

सिरहाको करजन्हामा जन्मिएका सन्तोष हाल बेलायता बस्छन् । उनले अब सेन्ट्रल लन्डनमा ‘ऐला बाइ सन्तोष’ नामक टिपिकल नेपाली कुजिन रेस्टुरेन्ट सञ्चालन गर्ने तयारी गरिरहेका छन् ।

बब्लु गुप्ता

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन घोषणा गरेपछि हुँदा खाने वर्गलाई हातमुख जोर्न निकै हम्मेहम्मे प-यो । कोरोनाको त्रास र लकडाउनको कहरले सबै जना घरभित्र थुनिएकाबेला बब्लु गुप्ता भने हुँदा खाने वर्गको भोक मेट्ने अभियानमा अग्रसर भए।

उनको हन्ड्रेड्स ग्रुपले १४ चैत ०७६ देखिनै काठमाडौंका विभिन्न ठाउँमा निःशुल्क खाना खुवाउने अभियान थाल्यो । योबीचमा करिव २ लाख जनालाई खाना खुवाए।

उनी जस्तै हाम्रो सानो प्रयास, हाम्रो टिम नेपाल, भोकालाई भोजन, खाना सबैैलाईलगायतका अभियानबाट लाखौँ निमुखा जनताले निःशुल्क रुपमा खाना खान पाए । उनीहरुले खुल्लामञ्च, लगनखेल, पशुपतीनाथ, रानीबारी, शिक्षण अस्पताल, पाटन अस्पताल, बालाजु, थापाथली, गौशाला, सुकुम्बासी बस्ती, शोभा भगवती, सोह्रखुट्टेलगायतका ठाउँहरुमा निःशुल्क खाना वितरण गरेका थिए ।

सावित्रा भण्डारी (साम्बा)

वर्ष २०७७ मा एपिएफकी स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) ले सनसनी मच्चाइन् । उनी यो वर्ष एकै खेलमा १२ गोल हान्ने पहिलो नेपाली महिला खेलाडी बनिन्।

खेलकै क्रममा घाइते भएर अन्तिम दुई खेल गुमाए पनि साम्बाले राष्ट्रिय महिला लिग अन्तर्गत १० खेलमा ४३ गोल गरेकी थिइन् । खेलमा उदयपुरको चौदण्डीगढी नगरपालिकाको पोस्टमा एपीएफले २२ गोल प्रहार गरेको थियो जसमा १२ गोल साम्बा एक्लै प्रहार गरेकी थिइन् । उक्त खेलमा उनी ‘प्लेयर अफ दि म्याच’ भएकी थिइन्।

गोल मेसिनको उपनामले परिचित साम्वा दक्षिण एशियामै चर्चित खेलाडी हुन् । राष्ट्रिय टिमसँगको ६ वर्षको अवधिमा ३८ अन्तर्राष्ट्रिय गोल गरेकी छन् । सावित्राको एन्टेरिएर क्रुसिएट लिगामेन्ट (एसिएल) च्यातिएको छ । अब सावित्रा करिब ९ महिना मैदान बाहिर रहने छिन्।

किरण चेम्जोङ

यो वर्ष उत्कृष्ट काम गरेर नाम कमाएका अर्का व्यक्ति हुन्, नेपाली फुटबल टीमका कप्तान किरण चेम्जोङ । उनकै कप्तानीमा नेपालले यो वर्ष थ्री नेसन्स कप फूटबल प्रतियोगिताको उपाधि हात पारेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गर्दै नेपालले यो उपाधि हासिल गरेको थियो । ३७ वर्षपछि नेपालले घरेलु भूमिमा उपाधि जितेको हो । यस अघि नेपालले सन् १९८४ को सागमा घरेलु मैदानमा उपाधि जितेको थियो । थ्री नेसन्स कप फूटबल प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा एसियन फुटबल कन्फेडेरेसनले चेम्जोङलाई इन्टरनेसनल प्लेयर अफ दी विक घोषणा गरेको थियो ।

किरणले ५५ दशमलव ६९ प्रतिशत मत प्राप्त गरेका थिए । १३ वर्षदेखि फुटवल खेल्न थालेका उनले दुई वर्षअघिदेखि कप्तानी सम्हाल्दै आएका छन् ।

सपना रोका मगर

वर्ष ०७७ मा साहसी नेपालीको पहिचान स्थापित गर्दै सपना रोका मगरले आफ्नो र देशको नाम विश्वभर चिनाइन्।

बेलायती समाचार संस्था ब्रिटिस ब्रोडकास्टिङ सर्भिस (बीबीसी) ले बनाएको उत्प्रेरक र प्रभावशाली सय जना महिलाको सूचीमा नेपालकी सपना पनि परेकी हुन्।

बेवारिसे शवको ब्यवस्थापनका सक्रिय उनले दर्जनौँ शवलाई दागबत्ती दिईसकेकी छन् । सपनाले सडकमा बेवारिसे अवस्थामा भेटिएका शवलाई अस्पताल पु-याउने र त्यसको पोस्टमार्टम गर्ने व्यवस्था मिलाउँछिन् । यदि, यस्तो शव अस्पतालमा ३५ दिनसम्म कोही बुझ्न आएन भने उनी आफैले दागबत्ती दिएर शवको अन्तिम संस्कार गर्छिन् ।

१८ वर्षीय सपना म्याग्दीको मंगला गाउँमा जन्मिएकी हुन् । गाउँकै महेन्द्ररत्न उच्च माविबाट ०७३ मा एसईई उत्तीर्ण गरेकी उनी केही समय बुटवलमा सडक बालवालिकासँगै दैनिकी बिताउन बाध्य भइन् । जीवनमा निकै हण्डर ठक्कर खाएकी उनी विदेश जाने सुरसारमा काठमाडौं प्रवेश गरेकी थिइन्। अन्ततः वेवारिसे शव व्यवस्थापनमा लागिन् र समाजको सम्मान पाइन्।

रामवीर मानन्धर

शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले वर्ष ०७७ मा एकल गायनमा विश्व रेकर्ड कायम गरे। राज्यमन्त्री मानन्धरको नाम यो विधामै पहिलो रेकर्ड हो । उनले लगातार ४ घन्टा ५ मिनेट २० सेकेन्डसम्म ५९ वटा गीत गाएर विश्व रेकर्ड कायम गरेका हुन्।

‘वर्ल्ड बुक अफ रेकर्ड, युके’ को बहालवाला मन्त्रीको एकल कन्सर्ट विधामा विश्व रेकर्ड कायम गरेका हुन् । यो विधामा आयोजना गरिएको कार्यक्रम विश्वको पहिलो भएकोले यो रेकर्डमा पहिलोपटक मानन्धरको नाम लेखिएको छ।

कार्यक्रममा मानन्धरले केही राष्ट्रिय गीत, आधुनिक गीत र नेवारी गीतहरु गाएका थिए।

प्रस्तुत छ, यसै विषयमा तयार पारिएको भिडियो रिपोर्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?