ओली बिना बसेको नेकपा स्थायी कमिटी बैठक स्थगित, के भयो कुरा ?

काठमाडौं – आन्तरिक विवादका विषयमा छलफल गर्न बसेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको  बैठक आगामी मङ्सीर २८ गते १ बजेसम्मको लागि स्थगित गरिएको छ ।

बैठकले आगामी २५ गते बोलाईएको केन्द्रीय कमिटी बैठक पनि सार्ने  निर्णय गरेको छ ।  बैठक पुस ५ गते बस्ने कार्यसूची निर्धारण गरेको छ  ।

बैठकपछि पत्रकारलाई जानकारी गराउँदै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भने  : 
पार्टीको आन्तरीक समस्या समाधानको लागि आजको बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली उपस्थित हुनुभएन । र अनुपस्थितको कारण देखाउँदै बैठकलाई सम्बोधन गरेर पत्र पठाउनुभएको थियो । उक्त पत्र सचिवालय सदस्य ईश्वर पोखरेलले वाचन गरेर बैठकलाई जानकारी गराउनुभयो । ओलीले आफ्नो पूर्व मान्यता यथावत् रहेको अर्थात् अर्का कार्यकारी अध्यक्ष प्रचण्डको प्रस्ताव औपचारिक रुपमा बैठकमा छलफल गर्न नसकिने कारणले बैठकमा नआएको जानकारी पत्रमार्फत् गराएको र त्यसपछि कार्यकारी अध्यक्ष प्रचण्डले बैठक अघि बढाउँदै आजको विशिष्ट गम्भिर र संकटपूर्ण पार्टी जीवनको अवस्थामा पार्टी एकतालाई केन्द्रमा राखेर संकट समाधानको लागि गम्भिर र व्यापक अघि बढाउन अपिल गर्नुभएको छ । बैठकमा दुवै अध्यक्षका पत्र पनि अध्ययनका लागि स्थायी कमिटी सदस्यलाई ७ दिनको समय दिईएको छ ।  

केन्द्रीय कार्यालय धूम्बाराहीमा भएको बैठक प्रधानमन्त्री एवम् पार्टीका एक अध्यक्ष केपी शर्मा ओली बिना नै बसेको हो । ओली को अनुपस्थितबीच उनको पक्षका सबै सचिवालय सदस्यहरु सहभागी भएका थिए । बैठकमा स्थायी कमिटी सदस्यहरु भीम रावल, रघुजी पन्त, वेदुराम भुषाल, पृथ्वी सुब्बा गुरुङ ,देब प्रसाद गुरुङ, लेखराज भट्ट , शंकर पोख्रेल ,टोपबहादुर रायमाझी , हरिबोल गजुरेल ,किरण गुरुङ, ,शक्ति बहादुर बस्नेत ,जनार्दन शर्मा, घनश्याम भुषाल, योगेश भट्टराई, पम्फा भुषाल, अष्टलक्ष्मी शाक्यलगायत सहभागि भएका थिए ।

करिब ४० मिनेटसम्म ओलीलाई कुरेका पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहितका नेताहरुले प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले ओली बैठकमा सहभागि नहुने सन्देश पठाएसँगै बैठक शुरु गरेका थिए ।

बैठकअघि शीर्ष नेताबीच अनौपचारिक छलफल हुन सक्ने भनिए पनि कुनै सहमति र पूर्वतयारी भने भएको थिएन ।
यसअघि हिजो (शनिवार)को सचिवालय बैठकले पार्टीभित्र उत्पन्न सङ्कट समाधानका लागि दुवै अध्यक्षले प्रस्तुत गरेको ‘प्रतिवेदन पत्र’ स्थायी कमिटीमा लाने निर्णय गरेअनुरुप आज स्थायी कमिटीमा छलफलका लागि लगिएको थियो।

गत कात्तिक २८ गतेको बैठकमा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गरेको प्रस्ताव पत्रमा यही मङ्सिर १३ गते ओलीले दिएको लिखित जवाफ र त्यसअघिका सम्बन्धमा शीर्ष नेताबीच विवाद हुँदै आएको छ ।

दुवै अध्यक्षका प्रस्तावलाई साझा बनाएर स्थायी कमिटी र आगामी मङ्सिर २५ गते हुने केन्द्रीय कमिटीको बैठकमा लाने वा अलग /अलग रुपमा लाने भन्नेबारेमा नेताबीच सहमतिको प्रयास भए पनि ठोस परिणाम आइनसकेका कारण आजको बैठकलाई निकै चासो दिएर हेरिएको थियो ।

पार्टीका दुई अध्यक्षको प्रतिवेदनमा सहमति जुटाउन सचिवालय बैठक असफल भएसँगै यो विवाद स्थायी कमिटी बैठकमा औपचारिक रुपमा प्रवेश भएको छ ।

यसअघि प्रकाशित : 

४० मिनेट ढिलो गरी शुरु भयो नेकपा स्थायी कमिटी बैठक, ओली गएनन् !

शुरु भएन नेकपाको स्थायी कमिटी बैठक, ओली अझै पुगेनन् धुम्बाराही

नेकपाको स्थायी कमिटी बैठक : धुम्बाराहीमा सुरक्षा व्यवस्था कडा

नेकपा स्थायी कमिटी बैठक आज बस्दै, समाधानको सुत्र पहिल्याउन सक्ला ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?