नेकपा स्थायी कमिटी बैठक आज बस्दै, समाधानको सुत्र पहिल्याउन सक्ला ?

काठमाडौं। चुलिँदो अविश्वास र सतहमा आएका झगडाका कारण फुटको संघारमा पुगेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बस्दै छ।

पार्टीका दुई अध्यक्षको प्रतिवेदनमा सहमति जुटाउन सचिवालय बैठक असफल भएसँगै नेकपाभित्रको विवाद झन् पेचिलो बन्दै स्थायी कमिटी बैठकमा प्रवेश गर्न लागेको हो ।

हिजो (शनिवार) बसेको सचिवालय बैठकले विवादको छिनोफोनो गर्ने जिम्मा स्थायी कमिटीलाई दिएसँगै आज (आइतवार) दिउँसो १ बजे धुम्बाराहीस्थित पार्टी कार्यालयमा बैठक बस्ने भएको हो।

आज तय गरिएको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुवै यसअघि सचिवालय बैठकमा ल्याएको ‘प्रस्ताव’मा छलफल हुने बताइएको छ ।

गत कात्तिक २८ गते सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले ओलीमाथि दर्जनौँ आरोप लगाउँदै राजनीतिक प्रस्तावको नाममा ‘पत्र’ पेश गरेपछि चिढिएका ओलीले मंसिर १३ को सचिवालय बैठकमा प्रचण्डको आरोपको ‘प्रत्युत्तरपत्र’ को नाममा जवाफ फर्काएका थिए ।

तर आजका लागि स्थायी कमिटी बैठकमा जान ओलीले चाहेका छैनन् । कार्यसूची तय नगरी स्थायी कमिटी बैठक बोलाइएकोमा प्रधानमन्त्री असन्तुष्ट रहेको स्रोतले बतायो ।

गत असारदेखि सतहमा आएको नेकपा विवाद अब स्थायी कमिटीमा प्रवेश गर्दैछ । यसैले पनि ओली बैठकमा सहभागी हुने / नहुने ‘अनिश्चित’ छ ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार पूर्व निर्धारित कार्यतालिकाअनुसार आजका लागि तय भएको स्थायी कमिटी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्ड दुबैको प्रस्ताव छलफलका लागि लैजाने निर्णय भएको हो । प्रवक्ता श्रेष्ठका अनुसार आजको बैठकले विवादको निरुपण गर्ने विश्वास लिइएको छ ।

गुटगत भेला गरेर पहिल्यै निर्णय गरेर सचिवालय बैठक बोलाउनु र एजेण्डाबिना बैठक बसेर हुर्मत लिने प्रयास गर्नु ‘बेकार’ हुने भन्दै यसअघि पनि ओलीले सचिवालय बैठकमा जान आनाकानी गर्दै आएका थिए ।

लोकपथसँगको कुराकानीको क्रममा ओलीनिकट स्रोत भन्छ , “सचिवालय बैठकमा लामो समयदेखि विवादमै रहेको विषयलाई तल्लो कमिटीमा लैजानु, बहुमतको सहारामा बलमिच्याई गरिएको यो अवस्थाले अब स्थायी कमिटीमा पनि अल्पमत बहुमत भएर अझै तल्लो कमिटी केन्द्रिय कमिटीमा जाने अवस्था आए पार्टीलाई गम्भीर बाटोतिर लैजाने खतरा बढेको छ ।”

तर प्रचण्ड निकट स्रोतको दाबी अर्कै छ ।  कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपालनिकट नेताहरुका अनुसार स्थायी कमिटीले वर्तमान समस्याको जड फूकाउने र निकास दिने सम्भावना छ ।

यसअघि पनि कोरोना महामारीको बीच ओलीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि पार्टी फूटको चर्चा चलेका बेला निकै दबाब पुगेको घटनाक्रम स्थायी कमिटीले नै मिलाएको थियो । त्यसबखत ओलीको पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पद सुरक्षित भएसँगै विवाद केहि साम्य भएको थियो ।

त्यसैले विश्लेषकहरु स्थायी कमिटीले समाधानको सूत्र पहिल्याउन सक्छ कि ! भन्नेमा आशावादी छन् ।

यसैबीच स्थायी कमिटी बैठकअघि पनि नेताहरुबीच अनौपचारिक भेटघाट भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?