काठमाडौं – लामो समयको रस्साकस्सीपछि डाकिएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक
बस्ने /नबस्नेमा अन्यौल बढेको छ ।
दुवै अध्यक्षसँग परामर्श गरी महासचिव विष्णु पौडेलले गत शुक्रबार अपराह्न ४ बजेका लागि बोलाएको सचिवालय बैठकले आजका लागि घनिभूत छलफल गर्ने निर्णय गरेको थियो । तर दुई अध्यक्षबीचको टकरावका कारण बैठक बस्ने या नबस्ने अन्यौल बढेको हो । यसैबीच दुईअध्यक्षको प्रस्ताव लिएर बालुवाटार–खुमलटार–बालुवाटार गरिरहेका नेकपा महासचिव विष्णु पौडेलले ‘दुवै अध्यक्ष हतारोमा रहेका कारण परिस्थिति जटिल भएको’ बताएसँगै नयाँ तरंग उत्पन्न भएको छ ।
विवाद बढ्दै जाँदा आजको लागि पूर्वनिर्धारित बैठक बस्ने या नबस्नेमा अनिश्चितता थपिएको हो ।
पार्टीभित्रको विवाद चरम उत्कर्षमा पुगेका कारण प्रचण्डले ओलीसँग सचिवालयको बैठक बोलाउन माग गरेका थिए । तर ओलीले पहिला एजेन्डामा सहमति भएपछि मात्र बैठक बस्ने अडान लिएका थिए ।
राजनीतिक विश्लेषकहरु भन्छन्, ‘‘निकासका लागि भनेर बोलाइएको नेकपाको सचिवालय बैठक झनै गम्भिर मोडतिर पुगेको छ ।”
अघिल्लो बैठक पनि कहरका बीच बसेका प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली बैठक स्थगित गर्ने मनस्थितीमा पुगेका छन् ।
ओलीनिकट नेताहरूको बैठकले बुधबारका लागि तय भएको नेकपा सचिवालय बैठक स्थगित गर्न ओलीलाई सुझाव दिएसँगै उनले प्रचण्डलाई प्रस्ताव पठाएका थिए । तर प्रचण्डपक्षका नेताहरु कुनैपनि हालतमा बैठक बस्नुपर्ने अडानमा छन् ।
स्रोतका अनुसार ओली पक्ष प्रचण्डको प्रस्ताव फिर्ता हुनुपर्ने र बैठक सार्नुपर्ने अडानबाट टसमस नहुने मनस्थितीमा छ भने प्रचण्ड–नेपाल पक्ष बैठक बस्ने र प्रस्तावमाथि छलफल हुनुपर्ने पक्षको अडानमा छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया