आगामी जनगणना : तपाईंलाई सोधिनेछन् यस्ता प्रश्न !

काठमाडौं – के तपाईंलाई थाहा छ- यसपटकको जनगणनामा  के – के प्रश्न सोधिनेछन् ?

यसै आर्थिक वर्षको असारमा हुने जनगणनामा सोधिने प्रश्नको सूची सरकारले यसअघि नै सार्वजनिक गरी जानकारी गराईसकेको छ । प्रत्येक १०- १० वर्षको अन्तरालमा हुने जनगणना अन्तर्गत आगामी जेठ अन्तिम सातादेखि हुने राष्ट्रिय जनगणना २०७८ मा सरकारले प्रश्नहरुको मोडल केहि बदलेको जनाएको छ ।

आर्थिक, सामाजिक अवस्थामात्र नभइ परिवारका सदस्यको बैंक तथा वित्तीय क्षेत्रमा रहेको खाता तथा लिएको ऋणसम्मका प्रश्नावली सोध्ने गरी प्रश्नावली तयार पारिएको तथ्यांक विभागले जनाएको छ ।

विभागका अनुसार जनगणकले प्रयोग गर्ने मोबाइल फोनको प्रकार, सवारी साधनदेखि गोठमा भएको गाईवस्तुको समेत विवरण तयार पार्न लागिएको छ ।

जनगणनाको लागि तयार पारेको प्रश्नावलीको खण्ड ‘क’ मा ११ वटा प्रश्न सोधिनेछ ।

उक्त खण्डमा घरपरिवारको परिचयात्मक विवरणदेखि घरको प्रकार तथा घर बनाएको वर्ष, परिवारले लिएको व्यवसायिक तथा प्राविधिक विषय सम्बन्धि प्रश्नावली तयार पारिएको छ ।

खण्ड ‘ख’ को मुख्य प्रश्नावलीमा परिवारले प्रयोग गरेको फोन, सवारी साधन, रेप्रिजेरेटर, वासिंङ मेशिन, एयर कन्डिशनलगायतका घरायसी सुविधा तथा साधनको वारेमा प्रश्न सोधिने छ । यतिमात्रै होईन परिवारको महिलाका नाममा रहेको घरजग्गा विवरण समेत सोधिने भएको छ ।

आगामी असारमा हुने १२ औं राष्ट्रिय जनगणनामा ४ अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान सरकारले गरेको छ । तर, जनगणनाको लागि ३ अर्ब रुपैयाँ विनियोजन भएको छ ।

विभागले जनगणना तयारी स्वरुप प्रचार प्रसार गर्ने तयारी पनि गरेको छ । कम्तिमा जनगणनाको १५ दिनअघिदेखि विभिन्न सञ्चारमाध्यमबाट प्रचार प्रसार गर्नुका साथै नेपाल टेलिकमसँगको सहकार्यमा आम नेपालीलाई जनगणनामा सहभागि हुन आव्हान पनि गरिनेछ ।

अहिले कोभिडको जस्तै गरेर जनगणमा सहभागि हुन टेलिफोन तथा मोबाइलको रिङटोनमार्फत जानकारी गराउने योजना विभागले गरेको छ ।

जनगणनाको लागि प्रदेश तथा जिल्लामा ८७ वटा कार्यालय स्थापना हुनेछन् भने स्थानीयस्तरमा ३४९ वटा कार्यालय खोल्ने तयारी विभागले गरेको छ । प्रदेश तथा जिल्लास्तरमा आगामी चैत १ गतेदेखि र स्थानीयस्तरमा वैशाख १ गतेदेखि कार्यालय खोल्ने तयारी भएको छ। जनगणनामा ४० हजार गणक र ९ हजार सुपरभाइजर खटिने छन् ।

जनगणनाको लागि राष्ट्रिय निर्देशन समितिले संघ, प्रदेश र स्थानीय तीनै तहमा समन्वय समिति गठन गर्न स्वीकृती पाइसकेको छ। विभागले आगामी जनगणनाका लागि आर्थिक वर्ष २०७६/ ७७ देखि २०७९ /८० सम्मको कार्ययोजना बनाइसकेको छ ।

विभागले घर तथा परिवार सूचीकरणका लागि २० दिनसमय तोकेको छ भने व्यक्तिगत गणनाका लागि १५ दिन समय छुट्याएको छ ।

जेठ २५ गतेदेखि असार ८ गतेसम्म मूल गणना गर्ने अभियान स्वरुप नेपाल सबै जिल्ल्लामा एकै पटक जनगणना गर्ने विभागले तयारी गरेको छ ।

आव २०७९ /८० मा तथ्यांक प्रविष्टि गरी जनगणना जाँच सर्वेक्षण गर्नेछ । त्यसको दुई तीन महिनामा प्रारम्भिक नतिजा सार्वजनिक गरिसक्ने विभागको तयारी छ । यस अवधिमा सम्पूर्ण नतिजा सार्वजनिक गरेर विषयगत प्रतिवेदन जनसंख्या मोनोग्राफ तयार गरी प्रकाशन समेत गर्ने विभागको योजना छ ।

विभागले जनगणनाको तथ्यांक संकलनका लागि मिश्रित मोडल अपनाउने छ ।

सहज पहुँच र उच्च नेटवर्क भएका स्थानमा ट्याबलेट र अन्य स्थानमा म्यानुयल दुबै मोडलबाट जनगणना प्रयोग हुनेछ ।

विदेशस्थित कुटनीतिक नियोगमा विद्युतीय गणना (ई-सेन्सस) विधि प्रयोगमा ल्याउने विभागको तयारी छ ।

तथ्यमा आधारित बसोबासको विधि प्रयोग गरिने गणनामा गणना अवधिमा जो व्यक्ति जहाँ छ, त्यहीँ गणना गरिने छ ।

१९६८ पछि नेपालमा हरेक १० – १० वर्षको अन्तरालमा जनगणना हुँदै आएको छ । यसअघि २०६८ सालमा जनगणना गरिएको थियो ।

नेपाल सरकार र केही विकास साझेदारहरूको प्राविधिक सहयोगमा संचालन गर्न लागिएको आगामी जनगणनाको मुख्य नारा ‘मेरो जनगणना, मेरो सहभागिता रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?