इन्धनको मूल्य कहिले घट्छ ? अर्थमन्त्रीले दिए यस्तो जवाफ

लोकपथ
4.6k
Shares

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले मध्यपूर्वमा देखिएको द्वन्द्वको असर कम हुँदै गएकाले डिजेल, पेट्रोल तथा मट्टीतेलको मूल्य निकट भविष्यमा घट्ने बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा आर्थिक विधेयक, २०८३ माथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटिसकेको भए पनि त्यसको प्रभाव नेपालमा पर्न केही समय लाग्ने बताएका हुन् ।

उनका अनुसार नेपालले भारतीय आयल निगममार्फत प्रशोधित पेट्रोलियम पदार्थ आयात गर्ने भएकाले अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेपछि त्यसको प्रभाव नेपालमा देखिन समय लाग्ने हुन्छ ।

अर्थमन्त्री वाग्लेले मध्यपूर्वको तनावका कारण उपभोक्तामाथि परेको भार कम गर्न आफू अर्थमन्त्री बनेको दुई साताभित्रै डिजेल, पेट्रोल र मट्टीतेलको पैठारीमा लाग्ने भन्सार महसुल तथा डिजेल र पेट्रोलमा लाग्ने पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिएको जानकारी दिए ।

उनले भने, ‘मध्यपूर्वमा देखिएको समस्याका कारण इन्धनको मूल्य बढ्दा आम उपभोक्तामाथि भार परेको थियो । त्यसलाई कम गर्न हामीले तत्काल करमा सहुलियत दिएका थियौँ। अहिले मध्यपूर्वको अवस्था सहज बन्दै गएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटिसकेको छ। भारतीय आयल निगममार्फत आयात हुने प्रक्रियाका कारण केही समय लागे पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य अब घट्ने अवस्थामा छ ।’

वाग्लेले आफू अर्थमन्त्री बनेलगत्तै इन्धनको मूल्यवृद्धिको असर कम गर्न आवश्यक नीतिगत पहल गरिएको दाबी पनि गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?