बजेट र मौद्रिक नीतिबीच तादात्म्यता मिलाउँदै राष्ट्र बैंक, एसेट म्यानेजमेन्ट कम्पनी बन्ने पक्का जस्तै

लोकपथ
28
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिलाई सरकारको वार्षिक बजेटसँग पूर्ण रूपमा तादात्म्यता मिलाएर ल्याउने तयारी गरेको छ ।

सरकारले तय गरेको आर्थिक लक्ष्य र दिशालाई सफल बनाउन मौद्रिक नीतिले सहयोगी भूमिका खेल्ने केन्द्रीय बैंकले प्रष्ट पारेको छ ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र नबिल बैंकको संयुक्त आयोजनामा सम्पन्न ‘डिकोडिङ मोडर्न बैंकिङ फर इकोनोमिक जर्नालिस्ट्स’ कार्यक्रममा बोल्दै राष्ट्र बैंकका प्रवक्ता एवं कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले वर्तमान बलियो सरकारको बजेटलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न मौद्रिक नीतिले बाटो फुकाउने उल्लेख गरे ।

दुई दशक पुरानो एसेट म्यानेजमेन्ट कम्पनीको अवधारणा मूर्तरूप लिँदै

विगत दुई दशक (आव २०५७–५८) देखि चर्चामा रहेको ‘एसेट म्यानेजमेन्ट कम्पनी’ (सम्पत्ति व्यवस्थापन कम्पनी) स्थापनाको कार्यले अब गति लिने भएको छ । प्रवक्ता पौडेलका अनुसार, बैंक तथा वित्तीय संस्थाहरूमा थुप्रिएको गैरबैंकिङ सम्पत्तिको कुशल व्यवस्थापनका लागि सरकारले तोकेकै समयभित्र यो कम्पनी स्थापना हुने सम्भावना बलियो बनेको छ ।

बजारमा पैसा छ, तर ऋण बगेको छैन

वित्तीय बजारको वर्तमान अवस्थाबारे टिप्पणी गर्दै प्रवक्ता पौडेलले अहिले प्रणालीमा पर्याप्त तरलता (लगानीयोग्य रकम) रहेको र ब्याजदर समेत लगातार ओरालो लागिरहेको जानकारी दिए । बैंकहरूसँग कर्जा दिन सक्ने उच्च क्षमता भए तापनि बजारमा अझै अपेक्षित रूपमा कर्जाको माग बढ्न नसकेको उनको भनाइ थियो ।

ब्याजदरलाई वाञ्छित सीमाभित्र राख्न राष्ट्र बैंकले तरलता व्यवस्थापनमा निरन्तर खर्च गरिरहेको उनले बताए। साथै, निजी क्षेत्रमा लगानीको वातावरण सुधार्न र सरकारलाई पुँजीगत खर्च बढाउन राष्ट्र बैंकले जोड दिँदै आएको छ, जसले कर्जा प्रवाह बढाउन मद्दत गर्नेछ ।

साना कर्जा र डिजिटल बैंकिङमा जोड

साधारण तथा साना व्यवसायीलाई प्रवद्र्धन गर्न राष्ट्र बैंकले लघु कर्जालाई प्राथमिकतामा राखेको छ । हाल १० लाख रुपैयाँसम्मको कर्जाको मूल्याङ्कन बैंकहरू आफैँले गर्न सक्ने खुकुलो व्यवस्था छ। आगामी दिनमा भने अझै न्यून कागजी प्रक्रियामार्फत सिधै कर्जा प्रवाह गर्न सकिने गरी पिअर–टु–पिअर डिजिटल प्रणालीतर्फ अघि बढ्ने लक्ष्य राष्ट्र बैंकले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?