प्रधानमन्त्री कोन्टेद्वारा ईटालीमा सबै खेल गतिविधि स्थगित गर्न निर्देशन

काठमाडौं । कोरोना भाईरसको त्रासका कारण ईटालीमा सबै खेल गतिविधि स्थगित गरिएको छ । इटालीका प्रधानमन्त्री ग्युसेप कोन्टेले अप्रिल ३ सम्म सबै खेल गतिविधि स्थगित गरिएको घोषणा गरेका छन् ।

योसँगै ईटालीको शीर्ष डिभिजनको सिरि ए फुटबल समेत अप्रिलको पहिलो सातासम्मका लागि स्थगित भएको छ । तर ईटालीको क्लब र राष्ट्रिय टिमले भने अन्तराष्ट्रिय प्रतियोगितामा खेल्न पाउनेछन् ।

सिरि ए फुटबलको खेलहरु यसअघि बन्द रंगशालामा खेलाउने निर्णय भएको थियो । सोही अनुसार युभेन्ट्स र ईन्टर मिलानले दर्शक बिना बन्द रंगशालामा सिरि एको खेल खेलेका थिए ।

प्रधानमन्त्री कोन्टेले कोरोनाको फैलदो प्रभावलाई हेरेर ईटालीमा सार्वजनीक रुपमा भिडभाड हुने कार्यक्रम तत्कालका लागि बन्द गराएका छन् ।

यसअघि ईटालीको ओलम्पिक कमिटिले समेत सबै प्रकारका खेल गतिविधि स्थगित गर्न माग गरेको थियो ।

कोरोना भाईरसको प्रभाव ईटालीमा धेरै देखिएको छ । ईटालीमा करिब ९ हजारमा कोरोनाको संक्रमण भएको पुष्टि भएको छ । जसका कारण ४ सय ५० मानिसले ज्यान गुमाएका छन् ।

तर बिहिबार युरोपा लिगमा ईटालियन क्लब रोमा र सेभिल्लाबीचको खेल बन्द रंगशालामा खेलाईनेछ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?