भियतनाममा जारी तेस्रो पिकलबल विश्वकप-२०२६ मा नेपाललाई ऐतिहासिक सफलता

लोकपथ
0
Shares

काठमाडौं । भियतनामको दानाङमा जारी तेस्रो पिकलबल विश्वकप–२०२६ मा नेपालले ऐतिहासिक सफलता हात पारेको छ ।

नेपाली खेलाडी दावा सोनाम शेर्पाले पुरुष एकलतर्फ कास्यपदक जित्दै नेपाललाई पिकलबल विश्वकपमा पहिलो पदक दिलाएका हुन् ।

३० अगस्टदेखि ६ सेप्टेम्बरसम्म सञ्चालन भइरहेको प्रतियोगितामा दावाले पहिलो दिनमै उत्कृष्ट प्रदर्शन गरेका हुन् ।

सेमिफाइनलमा मंगोलियाका खेलाडीसँग प्रतिस्पर्धा गरेका दावाले तेस्रो स्थानका लागि भएको खेलमा ब्राजिलका खेलाडीलाई २१–१२, २१–१२ को सोझो सेटमा पराजित गर्दै कास्यपदक पक्का गरे ।

प्रतियोगिताका खेलहरू भियतनामको दानाङस्थित Tiên Sơn Sports Palace लगायतका आधिकारिक पिकलबल कोर्टहरूमा सञ्चालन भइरहेका छन् ।

दावा सोनाम शेर्पा पूर्व राष्ट्रिय टेनिस खेलाडी हुनुका साथै व्यावसायिक गल्फ खेलाडी समेत हुन् । टेनिसबाट हासिल गरेको खेल प्रविधि, कोर्टमा प्रतिस्पर्धा गर्ने अनुभव र बल नियन्त्रणसम्बन्धी सीपलाई पिकलबलमा समेत प्रभावकारी रूपमा प्रयोग गर्दै उनले अन्तर्राष्ट्रिय मञ्चमा उत्कृष्ट प्रदर्शन गरेका हुन् ।

पुरुष एकलतर्फ मंगोलियाले स्वर्ण तथा जापानले रजत पदक जितेका छन् ।

दानाङ, भियतनामबाट प्रतिक्रिया दिँदै दावाले यो उपलब्धि आफ्नो व्यक्तिगत सफलतामात्र नभई नेपाली पिकलबल र समग्र नेपाली खेलकुदका लागि महत्वपूर्ण उपलब्धि भएको बताए । अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्दै पदक जित्न पाउनु गौरवको क्षण भएको बताउँदै उनले नेपाली खेलकुदको विकास र अन्तर्राष्ट्रिय सहभागिता विस्तारका लागि निरन्तर प्रयास आवश्यक रहेको उल्लेख गरे ।

यसै क्रममा दावाले हालै नेपालमा आएको बाढीपहिरोबाट ठूलो धनजनको क्षति भएकोप्रति दुःखसमेत व्यक्त गर्दै प्रभावित परिवारप्रति समवेदना व्यक्त गरे । देश गम्भीर प्राकृतिक विपत्तिबाट गुज्रिरहेका बेला अन्तर्राष्ट्रिय मञ्चमा नेपालको झण्डा बोकेर पदक जित्न पाउनु आफ्नो लागि अझ विशेष क्षण भएको उनको भनाइ छ ।

यस विश्वकपमा नेपालबाट १८ सदस्यीय टोलीले सहभागिता जनाएको छ । दावाको ऐतिहासिक कास्यपदकले नेपाली टोलीको सहभागितालाई थप महत्वपूर्ण बनाएको छ ।

दावाको यो सफलता नेपाली पिकलबलको अन्तर्राष्ट्रिय यात्रामा ऐतिहासिक सुरुवात बनेको छ । विश्वकपको पहिलो दिनमै नेपालले पदक जित्नुले नेपाली खेलाडीको अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमता र नेपालमा पिकलबलको सम्भावनालाई समेत विश्वसामु उजागर गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?