२०७४, १७ माघ बुधबार ०८:४६

आर्थिक लेनदेनमा सुटुक्क छाडिए मुख्य आरोपी


प्रकाशित मिति : २०७४, १७ माघ बुधबार ०८:४६

काठमाडौँ, १७ माघ- राजधानीको दरबारमार्गस्थित ल्यान्डमार्क होटलमा भएको ‘सामूहिक बलात्कार’ मा संलग्न मुख्य आरोपीलाई महानगरीय प्रहरी वृत्त, दरबारमार्गले एक रात थुनामा राखेर सुटुक्क छाडेको तथ्य खुलेको छ । प्रेमी र उनका ३ साथीबाट बलात्कृत युवतीको सहयोगमा घटनाको तेस्रो दिन गत शनिबार महानगरीय प्रहरी वृत्त, महाराजगन्जले मुख्य आरोपीलाई पक्राउ गरेको थियो । महाराजगन्ज वृत्तमा राखिएका ती युवकलाई दरबारमार्ग वृत्तबाट खटिएको सई नेतृत्वको टोलीले शनिबार साँझ करिब ७ बजे जिम्मा लिएको थियो । सोही रात उनको स्वास्थ्य परीक्षण पनि गरिएको थियो । एक रात दरबारमार्ग वृत्तमै राखिएका ती युवकलाई आइतबार बिहानै सुटुक्क छाडिएको थियो । प्रहरीले यस घटनालाई गुपचुपराखेको थियो । दरबारमार्ग वृत्तका डीएसपी तिलक भारतीले सोमबार उक्त घटनाबारे आफूकहाँ कुनै केस नआएको दाबी गरे पनि पछि उक्त घटनामा दुवै पक्ष आफैं मिलेको भन्ने सुनेको बताएका थिए । गत बिहीबार राति काठमाडौंको दरबारमार्गस्थित ल्यान्डमार्क होटलमा चार जनाको समूहले एक युवतीलाई ‘सामूहिक बलात्कार’ गरेको घटनामा प्रहरीले उजुरी दर्ता नगरी मिल्न दबाब दिएको रहस्य सोमबार मात्रै खुलेको हो । त्यसलगत्तै महानगरीय प्रहरी परिसर, काठमाडौंले उक्त घटनाको अनुसन्धान गर्न एसपीको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको थियो, कान्तिपुरमा खबर छ  ।

प्रतिक्रिया दिनुहोस