सञ्‍चारमन्त्री अडियो प्रकरण : ओली र प्रचण्डबीच छलफल

काठमाडौं- सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा सञ्चारमन्त्री गोकुल बाँस्कोटा र स्वीस कम्पनीका नेपाल एजेण्ट विजय प्रकाश मिश्रबीच भएको ‘कमिसन डिलिङ’को अडियो सार्वजनिक भएपछि के गर्ने भन्ने सन्दर्भलाई लिएर प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटारमा भेटवार्ता जारी छ।

दुई अध्यक्षबीच सञ्‍चारमन्त्री गोकुलप्रसाद बास्कोटाको विवादास्पद अडियो प्रकरणबारे छलफल भइरहेको जनाइएको छ। छलफल बिहीबार बिहान १० बजेबाट सुरु भएको हो। सरकारले सुरुमा स्वीस कम्पनीलाई दिने भनिएपनि पछिल्लो समयमा जर्मनी कम्पनीलाई दिन लागिएपछि अडियो सार्वजनिक भएको हो। बुधबार विभिन्न सञ्चारमाध्यमलाई दिइएको उक्त अडियोमा मन्त्री बाँस्कोटाले केही अश्लिल शब्द पनि बोलेका छन्।

भ्रष्टाचारको कुरा आएकाले राजिनामा माग्नुपर्ने नेताहरुबीच छलफल भइरहेको छ। सञ्‍चारमन्त्रीले अडियो प्रकरणबारे आज पत्रकार सम्मेलनमा जानकारी दिनेछन्। सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा सञ्चारमन्त्री गोकुल बाँस्कोटा र स्वीस कम्पनीका नेपाल एजेण्ट विजय प्रकाश मिश्रबीच भएको ‘कमिसन डिलिङ’ को अडियो सार्वजनिक भएको छ।

उक्त अडियोमा बाँस्कोटाले सोधेका छन् ‘सकेसम्म २५ देखि २७ अर्बमा सकाउन पाए हुन्थ्यो। मानौं २५ निस्कियो भने कति हुन्छ?

मिश्रले जवाफ दिएका छन् ‘७० जति आउला की। आउट अफ ट्रयाक नजाँदा ७० जति आउला की !

त्यति भनेपछि बाँस्कोटाले सोधे ‘तपाइलाई के गर्छन ? छुट्टै गर्छन ? मिश्रले भनेका छन् ‘टोटल ७४ जति आउँछ भन्ने हाम्रो अनुमान छ। यसमा ७० प्रतिशत तपाइहरुलाई दिने हो, हामीले ३० प्रतिशत राख्ने हो। यो एकदमै ट्रान्सपरेन्ट हुन्छ।’

यो फोन वार्तापछि बाँस्कोटाले फेरि सोधे, त्यो भनेको कति हुन्छ मिश्रले भने ५४ देखि ५५ करोड तपाइहरुलाई दिने १५ देखि १६ हामीले राख्ने। हामीले पनि त अलि अलि राख्नुपर्‍यो नि। आउट अफ ट्याक गइयो भने।

विगतमा शेरबहादुर तामाङले नैतिकताका आधारमा राजिनामा दिएर सहज बनाउने काम गरेकाले बास्कोटाले पनि नैतिकताका आधारमा राजिनामा दिनुपर्नेमा नेकपाभित्र पनि छलफल सुरु भएको छ।

यसैबीच नेपाली कांग्रेसले सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बाँस्कोटालाई बर्खास्त गर्न माग गरेको छ।

यता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफूमाथि लागेको आरोपबारे काठमाडौं फर्किएपछि विस्तृत प्रतिक्रिया दिने बताएका छन् ।
“ममाथि लागेको आरोप प्रमाणित भए सजाय भोग्न तयार छु”, बेलडाँडी गाउँपालिकामा आज बिहान आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले भने, “राजनीतिक रङ दिएर अफवाह फैलाउनुको अर्थ छैन ।”

जनपक्षीय काम गर्दै गएमा प्रतिक्रियावादी वर्ग आफैँ परास्त हुने मन्त्री बाँस्कोटाको भनाइ छ। “आरोप आफैँमा ठूलो कुरो होइन, आरोप दिनदिनै लाग्छ”, उनले भने, “सरकार सञ्चालन गर्दा आरोप लाग्दै जान्छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?