महरा कारागारबाट बाहीरिँदा जे देखियो (फोटो-भिडियोसहित)

काठमाडौं । जिल्ला अदालत काठमाडौंले पूर्वसभामुख कृष्णबहादुर महरालाई जबरजस्ती करणी उद्योगको मुद्दामा सफाइ दिएसँगै उनी उनी अदालतबाट एक शब्द पनि नबोली सरासर कारागार हान्निए । त्यहाँ उपस्थित सञ्चारकर्मी पत्रकारले फोटो र भिडियो क्लिप मात्रै पाए । त्यसपछि उनी डिल्लीबजारस्थित केन्द्रिय कारागारमा पुगे । त्यहाँ अदालतबाट सफाइ पाएको पत्र आएपछि नीजि रातो कारमा चढेर सदरखोरबाट बाहिरिए ।

उनलाई डिल्लीबजार सदरखोरका कैदीले माला र खादा लगाएर विदाइ गरेका थिए। लगतै उपस्थित भीड छिचोल्दै महरा खुमलटार हानिए । उनको साथमा थिए, केहि सुरक्षाकर्मी र नजिकका आफन्त । अदालतले ३ महिना १३ दिनपछि निर्दोष ठहर्याएलगतै उनलाई बधाई र शुभकामना दिन नेकपाका नेता तथा कार्यकर्ताको डिल्लीबजारमा बाक्लो भीड बढ्यो ।

काठमाडौं जिल्ला अदालतले महारालाई सोमबार सफाइ दिएसँगै उनी हिरासतबाट बाहिरिने थाहा पाएका शुभेच्छुकको भीडका कारण डिल्लीबजारको सवारी आवागमन ठप्पै थियो । संघीय संसद सचिवालयकी महिला कर्मचारी रोशनी शाहीमाथी बलात्कारको प्रयास गरेको अभियोगमा पूर्व सभामुख महरालाई पक्राउ गरी मुद्दा चलाइएको थियो ।

मुलुकी अपराध संहिता ऐन २०७४ को दफा २१९ को उपदफा ३ ङ मा १८ वर्ष वा सो भन्दा बढी उमेरकी महिलालाई जबर्जस्ती करणी गरे सात वर्षदेखि १० वर्षसम्म कैदको व्यवस्था छ । उनी सार्वजनिक ओहोदामा रहेर कसुर गरेको भन्दै सरकारी वकिलले फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐन २०७४ को दफा १५ ङ बमोजिम थप सजायको माग पनि गरेको थियो । यस व्यवस्थाअनुसार महरालाई ५० प्रतिशत थप सजायको मागसहित सरकारी वकिलले मुद्दा दर्ता गरेको थियो । हिजो आईतबार हुने भनिएको फैसला आजका लागि सारिएको थियो ।

सोमबार जिल्ला न्यायाधीश अम्बरराज पौडेलको इजलासले महरालाई सफाइ दिएको श्रेष्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिए । महराको पक्षबाट रमण श्रेष्ठ, शेरबहादुर केसी, लभ मैनाली, दीनमणि पोखरेल, भीमार्जुन आचार्यलगायतले बहस गरेका थिए । सरकारी पक्षबाट उमाकान्त खनाललगायत वकिलहरूले जवाफ दिएका थिए ।

प्रहरीले जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएर उनलाई पक्रेको थियो । एक सञ्चारमाध्यममार्फत रोशनी शाहीले आफूलाई महराले यौन दुव्र्यवहार गरेको भन्दै अन्तरवार्ता दिएपछि पदबाट राजीनामा दिएका सभामुख कृष्णबहादुर महरालाई पक्राउ गर्नुपर्ने माग राख्दै राजधानीमा प्रदर्शन समेत भएको थियो ।

यसपछि गत असोज १९ गते उनलाई पक्राउ गरिएको हो । महराले असोज १२ गते सादा पोशाकमा रहेका नेपाल प्रहरीका हवल्दार बिष्णुबहादुर थापा, नेपाली सेनाका जमदार काजीमान राना मगर र चालक सहायक प्रहरी हवल्दार श्यामहरि आचार्यलाई लिएर पीडित महिलाको कोठामा पुगेको खुलेको प्रहरीले बयान दिएका थिए।

त्यस्तै अन्य भौतिक प्रमाणले महरा पीडित महिलाको कोठामा गएको पुष्टि गरेपछि जिल्ला अदालतले कात्तिक १८ गते थुनामा पठाउन आदेश दिएको थियो।

महराले आजको दिनसम्म १ सय ३ दिन डिल्लीबजार कारागारमा बिताइसकेका छन्। अदालतले सफाइ दिएसँगै उनी मुस्कुराउँदै बाहिरिएका थिए । तर सञ्चारकर्मीसँग भने उनले प्रतिक्रिया दिएनन् । हेर्नुहोस् यस्तो देखियो उनी बाहिरीँदै गर्दा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?