रसुवा बाढी : खोज तथा उद्धारलाई पहिलो प्राथमिकता दिन कांग्रेसको माग

लोकपथ
0
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको तत्काल खोज तथा उद्धारमा जुट्न सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै कांग्रेस सांसद अर्जुननरसिंह केसीले बाढीबाट रसुवासहित धादिङ, नुवाकोट र आसपासका क्षेत्रमा ठूलो क्षति भएको भन्दै सरकारको पहिलो प्राथमिकता उद्धार र राहत हुनुपर्ने बताए ।

उनका अनुसार रसुवाका दर्जनौँ बस्ती बाढीबाट प्रभावित तथा ध्वस्त भएका छन् भने धेरै मानिस सम्पर्कविहीन भएका छन् । बाढीका कारण प्रहरी तथा विभिन्न जलविद्युत् आयोजनामा कार्यरत मजदुरसमेत सम्पर्कविहीन भएको जानकारी आएको उनले बताए ।

सांसद केसीले नुवाकोटका देविघाट र त्रिशूली आयोजनामा समेत क्षति पुगेको तथा त्रिशूली बजार प्रभावित भएको उल्लेख गरे । त्यस्तै, नवलपुर क्षेत्रमा १२ भन्दा बढी पक्की पुलमा क्षति पुगेको र धादिङबेसी जाने पक्की पुलसमेत बाढीले बगाएको उनले बताए ।

उनले विपद्को यस कठिन समयमा सरकार एक्लैले नभई सबै राजनीतिक दल, स्थानीय तह, गैरसरकारी संस्था तथा अन्य उपलब्ध संयन्त्रलाई विश्वासमा लिएर खोज, उद्धार र राहतमा परिचालन गर्नुपर्नेमा जोड दिए ।

‘यस्तो विपत्तीको समयमा सरकार चनाखो भएर सबैभन्दा पहिले गर्नुपर्ने कुरा भनेको उद्धार हो,’ उनले भने ।

केसीले आफूले यसअघि नै हिमताल विस्फोटलगायतका सम्भावित विपद्का विषयमा विभिन्न अन्तर्राष्ट्रिय संस्थाका प्रतिवेदन अध्ययन गरी सरकारले पूर्वतयारी गर्नुपर्ने विषय उठाउँदै आएको स्मरण गराए ।

उनले विपद्को यो कठिन अवस्थामा प्रतिपक्षी दलहरू सरकारको साथमा रहेको बताउँदै बाढी प्रभावित नागरिकलाई सरकार, राजनीतिक दल र समाज सबै साथमा रहेको विश्वास दिलाउनुपर्ने बताए ।

बुधबार बिहान तिब्बततर्फबाट आएको बाढीका कारण रसुवा, धादिङ, नुवाकोटलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको छ । बाढीपछि विभिन्न क्षेत्रमा खोज तथा उद्धार कार्य जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?