काठमाडौं । नेपाली सेयर बजारमा बुधबार ठूलो गिरावट आएको छ । नेप्से परिसूचक ३५ दशमलव ९२ अंकले घटेर २ हजार ५ सय ५८ दशमलव ३५ विन्दुमा झरेको छ ।
बुधबार रसुवाको भोटेकोशीमा आएको बाढीले जलविद्युत आयोजनामा ठूलो क्षति पुर्याएपछि त्यसको असर सेयर बजारमा पनि देखिएको हो । विशेषगरी बाढी प्रभावित जलविद्युत कम्पनीको सेयर मूल्यमा उच्च गिरावट आएको छ ।
आज ३४८ कम्पनीका १ करोड ३५ लाख ८२ हजार ३२० कित्ता सेयर किनबेच भएका छन् । कुल कारोबार रकम ४ अर्ब ७७ करोड ३८ लाख रुपैयाँ पुगेको छ ।
नेप्से घटे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ । मंगलबार ४ अर्ब १० करोड ९७ लाख रुपैयाँको कारोबार भएको थियो ।
बुधबार कारोबार भएका कम्पनीमध्ये २५२ कम्पनीको सेयर मूल्य घटेको छ भने २३ कम्पनीको मूल्य बढेको छ । तीन कम्पनीको मूल्य भने स्थिर रह्यो ।
बाढीबाट प्रभावित जलविद्युत कम्पनीमध्ये रसुवागढी हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै १५ प्रतिशतले घटेको छ । मैलुङखोला जलविद्युतको १४ दशमलव ९९ प्रतिशत, त्रिशूली जलविद्युतको १२ दशमलव ९५ प्रतिशत, माथिल्लो मैलुङखोलाको ११ दशमलव ५६ प्रतिशत, सान्जेन जलविद्युतको ११ दशमलव १८ प्रतिशत र चिलिमे हाइड्रोपावरको १० दशमलव १२ प्रतिशतले मूल्य घटेको छ ।
समूहगत रूपमा निर्जीवन बीमा उपसूचक ३ दशमलव ९० प्रतिशत र जलविद्युत उपसूचक २ दशमलव ८४ प्रतिशतले घटेको छ । जीवन बीमा १ दशमलव ५२, अन्य १ दशमलव ४६, लगानी १ दशमलव २८ र फाइनान्स समूह १ दशमलव १० प्रतिशतले घटेका छन् ।
बुधबार सर्वोत्तम पेन्ट्सको सेयर मूल्य भने १५ प्रतिशतले बढेको छ। अपर हेवा खोला हाइड्रोपावर १० दशमलव ४३ प्रतिशत, एभरेस्ट बैंक डिबेन्चर ६ दशमलव ०८ प्रतिशत, नबिल डिबेन्चर ५ दशमलव ६२ प्रतिशत र मेगा म्युचुअल फन्ड ४ दशमलव २५ प्रतिशतले बढेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया