एनसेल प्रकरणः मुछिए धितोपत्र बोर्डकाे अध्यक्ष पदका दावेदार ढुङ्गाना

काठमाडौं । नेपालको निजी क्षेत्रको दुरसञ्चार कम्पनी एनसेल यतिखेर कर छलिको आरोपमा विवादमा रहेको छ । त्यससँगै उक्त प्रकरणमा कहिले कस्को नाम जोडिएर आउँछ त कहिले कस्को । कर छलिमा सघाएको आरोपमा ठुला राजनीतिक नेतृत्वदेखी विभिन्न निकायमा आवद्ध रहेका व्यक्तिहरुको नाम जोडिएर आइरहेको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ माथि अन्य आर्थिक अनियमितता साथै एनसेललाई लाभांश पठाउने क्रममा सघाएको आरोपमा निलम्बन गरिएको छ । यसैक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष पदको लागि अग्रणी मानिएका भीष्मराज ढुंगानाको नाम समेत जोडिएर आएको छ । बोर्डको अध्यक्ष छनोटका लागि बनेको समितिले ढुंगाना सहित अन्य २ को नाम सिफारिश गरि संसदमा पठाइसकेको छ ।

एनसेललाई लाभांश विदेश लैजान अनुमती दिँदा सघाएको आरोप ढुंगाना माथी लागेको छ । लाभांश पठाउने क्रममा ढुंगाना राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागमा कार्यकारी निर्देशकको भुमिकाको रुपमा कार्यरत रहेका थिए । एनसेललाई लाभांश लैजाने फाइलको मुचुल्का बनाउँदा ढुंगाना नै अग्रणी भएर काम गरेको राष्ट्र बैंकको एक स्रोतले जनाएको छ ।

साथै ढुंगानाले तयार पारेको उक्त फाइलमा श्रेष्ठले नै हस्ताक्षर गरेका थिए । तर श्रेष्ठले आफुमाथी लागेको आरोप निराधार रहेको बताउँदै आएका थिए । श्रेष्ठका अनुसार राष्ट्र बैंकको गभर्नर बन्न नदिनका लागि उक्त आरोप लगाइएको उनको दाबी रहेको छ । भने बोर्डको अध्यक्ष बन्ने कुरामा चलखेल गरि त्यसबाट पछि हटाउनको लागि यस्तो खेल खेलिएको ढुंगानाको दावी रहेको छ । साथै एनसेललाई लाभांश पठाउँदा वैधानिक बाटोबाट नै पठाइएको ढुंगानाको ठहर रहेको छ ।

गत असोजमा धितोपत्र बोर्डका अध्यक्ष डा रेबत बहादुर कार्कीको कार्यकाल सकिएको थियो । त्यससँगै बोर्ड अध्यक्ष विहिन रहेको छ । अध्यक्ष छनोटका लागि भन्दै अर्थ मन्त्रालयले गत कार्तिक २० गते राष्ट्रिय योजना आयोगका सदस्य रामेश्वर फुँयालको संयोजकत्वमा मन्त्रालयका राजस्व सचिव शिविरकुमार ढुंगाना तथा आइक्यानका अध्यक्ष कृष्णप्रसाद आचार्य सदस्यसहितको छनोट समिति गठन गरेको थियो । साथै गत मंसिर ३ गते मन्त्रालयले सूचना जारी गर्दै आवेदनका लागि आह्वान गरेको थियो । त्यससँगै निरज गिरी, नवराज अधिकारी, नगेन्द्र सिजापति, निल सारु मगर, भीष्मराज ढुंगाना, केशव श्रेष्ठ, सिताराम थपलिया तथा डा. बलराम पाठक लगायतले आफ्नो नाम समितीमा पठाएका थिए ।

उक्त छनोट समितीले अन्तवार्तामार्फत ३ जनाको नाम अन्तिम छनोट गरी सिफारिश गरेको थियो । सिफारिशमा पर्नेमा भीष्मराज ढुंगाना, निरज गिरी तथा डा केशव श्रेष्ठ रहेका थिए । त्यी मध्ये ढुंगानालाई भावी अध्यक्षको लागि प्रवल दावेदारको रुपमा मानिएको थियो । अर्थमन्त्री डा. युवराज खतिवडाले अब बस्ने मन्त्रीपरिषदको बैठकमा ३ जनाको नाम मन्त्रीपरिषदमा पेश गर्न लागेका थिए । तर प्रवल प्रत्यासीका रुपमा रहेका ढुंगाना एनसेल काण्डमा मुछिएसँगै अब मन्त्रीपरिषदको निर्णय कस्तो आउला भन्ने कुरा कौतुहलताको विषय बनेको छ । त्यस्तै निलम्बित डेपुटी गभर्नर श्रेष्ठको कुरा समेत आजको मन्त्रीपरिषदको बैठकमा समेत प्रवेश पाउने भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?