२०१९ मा मनि ट्रान्सफर मार्फत् सबैभन्दा धेरै रेमिट्यान्स भित्रियो, कुन देशबाट कति ?

काठमाडौं । सन् २०१९ अब गत वर्ष भन्ने उपमा भिर्दै सकिएको छ । साल सकिएसँगै हरेक देशले एक वर्षभरि गरिएका कामहरुको विभिन्न कोणबाट मुल्यांकन गर्ने गरिन्छ । बितेको वर्षमा देशले कति आर्थिक प्रगती हासिल गर्न सफल भयो ? वैैदेशिक रोजगारी तथा त्यहाँबाट कति रेमिट्यान्स प्राप्त भयो ? विकास निर्माणका क्षेत्रहरुबाट कति मात्रामा प्रगती हासिल गर्न सकियो ? तथा यावत क्षेत्रमा भएका कामकारबाहीका बारेमा समिक्षा गर्ने गरिन्छ । साथै वर्षभरिमा अर्थतन्त्रमा कस्तो किसिमको प्रभाव रह्यो भन्ने कुराको बारेमा मुल्याङ्कन गर्ने गरिन्छ । एक वर्षमा हाँसिल गर्न नसकिएका लक्ष्यहरुको बारेमा समेत समिक्षा गर्ने गरिन्छ । नेपाल जस्तो विकासशिल राष्ट्रका लागि वैदेशिक रोजगारीबाट प्राप्त हुने रेमिट्यान्सले समेत महत्वपुर्ण भुमिका राख्दछ । नेपालको सन्दर्भमा कुरा गर्ने हो भने अर्थतन्त्रमा करिव २७ प्रतिशत योगदान वैदेशिक रोजगारीबाट प्राप्त हुने रेमिट्यान्सको रहेको छ ।

रोजगारीको सिलसिलामा आफ्नो देश भन्दा बाहिर श्रमको लागि जानु नेपाल जस्तो विकासशिल राष्ट्रको बाध्यता नै हो भन्दा अतियुक्ति नहोला । हालसम्म नेपालको विश्वका धेरै राष्ट्रसँग श्रम सम्झौता भएको वैदेशिक रोजगार विभागको तथ्यांकमा रहेको छ । जस अनुसार हालसम्म करिब ४० लाख युवाहरु विश्वका विभिन्न मुलुकमा रहेका छन् । उनीहरुले पठाएको रेमिट्यान्स नै नेपाली अर्थतन्त्रको एक मानकको रुपमा हेरिन्छ । वैदेशिक रोजगारीमा जानु आफैमा नराम्रो होईन । बाहिरी देशबाट सिकेर आएको सीप तथा पूँजीबाट स्वदेशमा नै नयाँ रोजगारी सिर्जना गरि आत्मनिर्भर भएको धेरै उदाहरणहरु रहेका छन् ।

नेपाल जस्तो विकासशील राष्टका लागि आर्थिक उपार्जनको मुख्य साधनको रुपमा वैदेशिक रोजगारीलाईं मानिन्छ । तर त्यसमा पनि श्रम सुरक्षाको कारण धेरै नेपालीहरुको विदेशमा अकालमा ज्यान गइरहेको छ । परिवारको रोजीरोटीको खोजीमा विदेशमा अंगभंग हुने तथा ज्यान गुमाउनु परेका त्यस्ता सयौं हजारौ उदाहरणहरु रहेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिँदै गर्दा गएको मानिस फर्किने हो कि होइन भन्ने कुराका पछाडी भित्रिने रेमिट्यान्सले अर्थतन्त्रमा यस्तो योगदान रहेको छ भनेर खुसी हुनुको कुनै तुक देखिदैँन ।

तर श्रम सुरक्षाको अभावका कारण वर्षेनी ठुलो संख्यामा मृत शरीर नेपाल भित्रिने गरेको छ । हो, वर्षको अन्त्यसँगै त्यसको समेत लेखाजोखा राख्ने गरिन्छ । सन् २०१९ मा कति रेमिट्यान्स भित्रियो त ? लोकपथले एक खोजमूलक सामाग्री प्रस्तुत गरेको छ ।

कुन देशबाट कति रेमिट्यान्स भित्रियो ?
हाल नेपालमा विश्वका १५८ राष्ट्रबाट रेमिट्यान्स भित्रिने गरेको छ । नेपाल राष्ट्र बैंकका अनुसार सन् २०१९ को नोभेम्बर अन्तिमसम्म करिब ६ अर्ब १८ करोड ८६ लाख ८३ हजार १ सय ११ अमेरिकी डलर बराबर रेमिट्यान्स भित्रिएको पाइएको छ । नेपालले विश्वका भिन्न देशहरुबाट बैंक तथा मनिट्रान्सफर गरि विशेष दुई च्यानलमार्फत् रेमिट्यान्स भित्राउने गर्दछ । यो आर्थिक वर्षमा संयुक्त राज्य अमेरिकाबाट मनिट्रान्सफर मार्फत् १ अर्ब १३ करोड १४ लाख २४ हजार २ सय ७० अमेरिकी डलर बराबरको रेमिट्यान्स भित्राएको छ । भने बैंकिङ क्षेत्रमार्फत २३ करोड १३ लाख ११ हजार १ सय ११ अमेरिकी डलर बराबरको रेमिट्यान्स नेपाल आएको छ । त्यस्तै जापानबाट ५२ करोड ८२ लाख ८९ हजार ४ सय ७४ अमेरिकी डलर मनि ट्रान्सर्फरमार्फत् भित्रिएको छ । भने ३ करोड ९ लाख १८ हजार २ सय १५ अमेरिकी डलर रेमिट्यान्स बैंक मार्फत भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै राष्ट्र बैंकका अनुसार कतारबाट रेमिट्यान्स मार्फत ४५ करोड ६० लाख ११ हजार ३ सय ६८ अमेरिकी डलर भित्रियो भने बैंकिङ क्षेत्र मार्फत् १२ करोड ६७ लाख ८७ हजार ६ सय ५५ अमेरिकी डलर बराबरको रेमिट्यान्स भित्रिएको छ । त्यस्तै युनाईटेड अरव इमिरेट्स (दुबई) बाट मनिट्रान्सफर मार्फत् ३६ करोड ८७ लाख ५९ हजार २ सय ५९ अमेरिकी डलर तथा बैंकिङ क्षेत्रमार्फत् ३४ करोड ७४ लाख २८ हजार २ सय ३५ अमेरिकी डलर बराबर रेमिट्यान्स नेपालले भित्राएको छ । भने मित्र राष्ट्र भारतबाट भने ६८ करोड २७ लाख ९२ हजार ५ सय ६१ अमेरिकी डलर बराबरको रेमिट्यान्स नेपालले भित्राएको राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?