फर्केर हेर्दा २०१९ : बैंक तथा वित्तीय क्षेत्रमा यस्ता उथलपुथल

काठमाडौं । सन् २०१९ हामीबाट बिदा हुने तरखरमा छ । २०२० लाई न्यानो स्वागत गर्न विश्व आतुर भइसकेको छ । यसैबीच सन् २०१९ को यो वर्षभरी बैंक तथा वित्तीय क्षेत्रमा के कस्ता उथलपुथल भयो भन्ने विषलाई लिएर एक सामाग्री यहाँ प्रस्तुत गरिन्छ ।

एक वर्षको समयावधीमा भएका सम्पूर्ण पक्षको सुक्ष्म अध्ययन गरि चालूु आर्थिक वर्षमा त्यसलाइ सकारात्मक एवं सुधारात्मक तवरबाट लैजाने प्रयासका लागि हरेक वर्षको समिक्षा आवश्यक छ । हामीले बिताएको वर्षभरिमा के कस्ता राजनीतिक घटनाक्रम के भए ?, कति आर्थिक लक्ष्य हासिल गरियो?, विकासको स्थिती कस्तो दरमा अघि बढ्यो ? तथा आर्थिक वर्षका लागि विशेषाधिकारको क्षेत्रबाट के कति लक्ष्य हासिल गरियो भन्ने जस्ता कुराको मुल्याङ्कन गरिन्छ । साथै आगामी आर्थिक वर्षमा कसरी अघि बढ्ने भन्ने कुराको बारेमा समेत मार्ग प्रशस्त गर्ने गरिन्छ ।

सन् २०१९ को अन्त्य तथा २०२० को शुरुवातमा विभिन्न कोणबाट २०१९ को समिक्षा एवं मुल्याङ्कन गर्न थालिएको छ । आर्थिक, सामाजिक, राजनीतिक, भौतिक एवं दौत्य सम्बन्ध निर्माणका हिसाबले समेत कति सफल भइयो भनेर हेर्नु महत्वपुर्ण मानिन्छ । सन् २०१९ मा नेपालमा त्यस्ता धेरै घटनाहरु भए जसले धेरै पछि २०१९ लाई फर्किएर हेर्दा केही सोचनिय बनाउँछ । राजनीतिक, आर्थिक, खेलकुद जगत लगायतका क्षेत्रहरु मध्ये कुनै क्षेत्रले उल्लेख्य मात्रामा सफलता दिलाएको छ ।

भने कुनै पक्षबाट भने नराम्रा निलडाम र घाउहरु छाडेर गएका छन् । राजनीतिक जगतकमा केही उतारचढाव देखिएको छ । त्यस्तै खेलकुद जगतमा भने सफतापुर्वक साग नेपालमा सम्पन्न गरिनुलाई ठुलो उपलब्धी मानिएको छ । भने आर्थिक एवं बैंक तथा वित्तीय क्षेत्रमा भने ठुलो चर्चा एवं केही घटनाले विश्वको ध्यान समेत नेपालतिर केन्द्रित गरेको थियो । बैंक ह्याकिङ प्रकरण, डेपुटी गभर्नर माथीको निलम्बन देखी लिएर बिग मर्जर लगायत अन्य कुराहरुका कारण सन् २०१९ आर्थिक पक्षबाट लाई सम्झन लायक बनाएको छ ।

सन् २०१९ मा आर्थिक एवं बैंक तथा वित्तीय क्षेत्रमा के के उतारचढाब भए ?

बैंक ह्याकिङ प्रकरण

सन् २०१९ मा बैंक तथा वित्तीय क्षेत्रले बिर्सिन नसक्ने घटनाहरु भएका छन् । जसले विश्व समुदायको ध्यान नेपालतिर केन्द्रित गर्याे । जसले वित्तीय सुरक्षा चुनौतीलाइ उजागर गरेको छ । चिनियाँ ह्याकरहरुले नेपालका बैंक तथा एटिएम बुथबाट रकम करोडौं रुपैयाँ दुरुपयोग गरेका छन् । नेपालका विभिन्न बैंक तथा वित्तीय संस्थाका सिस्टम ह्याक गरि रकम निकालेका थिए । गत भदौमा नविल बैंकको एटिएमबाट रकम निकालिरहेको अवस्थामा प्रहरीले ६ जना चिनियाँ ह्याकरहरुलाई पक्राउ गरेको थियो । ३ जना नेपालीले सहयोग गरि उक्त रकम चिनियाँहरुले निकालेका थिए । त्यससँगै ह्याकरहरुले नेपालका धेरै बैंक तथा वित्तीय संस्थाहरु टार्गेटमा राखेको कुरा समेत पत्ता लागेको छ । त्यतिमात्र नभएर नक्कली नागरिकताको प्रयोग गरि खाता खोलेर बैंक तथा वित्तीय संस्थाको रकम दुरुपयोग गरेको आरोपमा धेरै जनालाई समेत पक्राउ गरेको छ । जसलाई २०१९ मा मात्र नभई नेपाली ईतिहास मै बैंकिङ क्षेत्रमा भएको एक घटनाको रुपमा हेरिएको छ ।

राष्ट्र बैंक नीति अनुसार बिग मर्जर

नेपाल राष्ट्र बैंकले नेपालमा वाणिज्य बैंकहरु धेरै संख्यामा भएको भन्दै बिग मर्जरको नीति लिएको छ । जस अनुसार राष्ट्र बैंकले बैंकका सीईयो तथा अध्यक्षहरुलाई आफ्नो लागि पार्टनर खोज्नका लागि आदेश दियो । केन्द्रिय बैंकको नीति अनुसार ठुला मानिएका बैंकहरु ग्लोबल आईएमई तथा जनता एक आपसमा गाभिएर गत मंसिर २० गतेबाट एकिकृत कारोबार समेत थालेका छन् । जसलाई बैंक तथा वित्तीय क्षेत्रको ठुलो उपलब्धीको रुपमा मानिन्छ । छुट्टा छु्ट्टै कारोबारमा रहेको अवस्थामा ग्लोबलले अन्य ११ वटा वित्तीय संस्थाहरुलाई गाभेको थियो । भने जनताले ६ वटा वित्तीय संस्थाहरुलाई आफ्नो स्वामित्वमा ल्याएका थिए । अन्तत दुई बैंकहरु एक आपसमा गाभिएपछि पुँजी एवं जनशक्तिका हिसाबले समेत दरिलो मात्रामा गनिएको छ । मर्जरपछि बैंकको चुक्ता पूँजी १९ अर्ब पुगेको छ भने निक्षेप करिव २ खर्ब १० अर्ब तथा कर्जा २ खर्ब पुगेको स्रोतले जनाएको छ । जुन पूँजी अहिलेसम्मकै ठुलो रहेको पनि स्रोतको दावी रहेको छ ।

गभर्नर छनोटमा चलखेल तथा डेपुटी गर्भनर निलम्बन

२०१९ मा बैंकिङ क्षेत्रमा भएको अर्को मुख्य घटनाका रुपमा गर्भनर छनोटको चलखेल तथा डेपुटी गभर्नर माथिको निलम्बनलाई लिइन्छ । राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालको कार्यकाल यहि चैतमा सकिँदै छ । जसको लागि अहिलेबाट नै चलखेल शुरु भइरहेका छन् । गभर्नर छनोट प्रक्रियाको लागि हरेक ५ वर्षमा यसैगरि चलखेल शुरु हुने गर्दछ । जहाँ सत्ताधारी पार्टीको मुख्य भुमिका रहने गर्दछ । त्यस्तै हालको सत्ता साझेदार नेपाल कम्युनिस्ट पार्टीका नेता विशेषका नामसमेत जोडिएर आइरहेका छन् ।

राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि गरिएका निलम्बनलाई २०१९ मा वित्तीय क्षेत्रमा भएको एक मुख्य घटनाक्रमको रुपमा हेरिएको छ । वहालवाला टेपुटी गभर्नर श्रेष्ठमाथि राष्ट्र बैंकको इतिहासमा नै भएको पहिलो घटनाको रुपमा हेरिएको छ । श्रेष्ठलाई पदीय मर्यादा दुरुपयोग गरेको आरोपमा निलम्बन गरिएको हो । उनले बैंकको लाभांश लैजाने प्रक्रियामा हिनामिना गरेको, सर्वाेच्चमा एनसेल माथि परेको मुद्धामाथि सघाएको लगाएतका आरोप रहेको छ । राष्ट्र बैंकसँग जोडिएका यी दुबै विषबस्तुलाई २०१९ मा वित्तीय क्षेत्रमा भएको मुख्य घटनाको रुपमा हेरिएको छ ।

बैंक तथा वित्तीय क्षेत्रको सञ्चालकमा व्यवसायी नराख्ने

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट ठुला घरानाका व्यवसायीहरुलाई हटाउने निर्णयलाई बैंक तथा वित्तीय क्षेत्रको एक घटनाको रुपमा हेरिएको छ । बैंक तथा वित्तीय संस्थाका सञ्चालकहरुले जनताको पैसाबाट आफ्नो व्यवसायलाई प्रोत्साहन गरेकाले राष्ट्र बैंकले यस्तो नीति लिएको जनाएको छ । जसले वित्तीय क्षेत्रमा समेत हलचल पैदा गरेको छ । धेरै बैंक तथा वित्तीय संस्थाको सञ्चालकहरु ठुला व्यवसायीक घरानाका छन्, राष्ट्र बैंकको उक्त निर्णयले ठुला व्यापारिक घरानाको व्यापार व्यवसायमा समेत असर पर्ने देखिन्छ । उक्त निर्णयसँग साना तथा मझौला उद्योगहरुले कर्जा सहज रुपमा पाउने भएका छन् । राष्ट्र बैंकको उक्त निर्णयबाट साना व्यवसायीहरु खुसी छन् भने ठुला व्यवसायीहरु राष्ट्र बैंकसँग रुष्टिएका छन् । जसले गर्दा २०१९ मा वित्तीय क्षेत्रमा मुख्य गरि हेरिएको हो ।

कहाँ कहाँ चुक्यो बैंक तथा वित्तीय संस्था ?

नेपाली मिती अनुसार आर्थिक वर्ष साउनमा मात्र शुरु हुने गर्दछ । जस अनुसार अहिले आर्थिक वर्षको पहिलो पाँच महिना चल्दैछ । तर २०१९ लाइ नियाल्ने हो भने बैंक तथा वित्तीय क्षेत्रको सबैभन्दा राम्रो पक्ष तथा चुनौतीपुर्ण घडि पार गरेका छन् । सर्वसाधारणले आफूसँग रहेको हरेक रकमको सुरक्षित स्थानका रुपमा बैंकलाई लिने गर्दछन् । तर बैंक तथा वित्तीय संस्था नै आफुलाई सुरक्षित राख्न नसक्दा जनताप्रतिको भरोसा गुमाएका छन् । बैंक लुटिनुमा कतै सञ्चालकहरु कै समेत हात रहनु, कतै सानादेखि बैंकका कर्मचारीहरुको मिलेमतोमा नै बैंकको रकम हिनामिना हुनुले बैंकप्रतिको आम मानिसहरुको विश्वसनियतामा समेत ह्रास आइरहेको छ । विभिन्न अध्ययनहरुले नेपालका बैंक तथा वित्तीय क्षेत्रहरुको सुरक्षा माथि प्रश्नचिन्ह खडा गरिरहेका छन् ।

उक्त कुराले नेपालको अर्थतन्त्रलाई नै टाट बनाउन सक्ने खतरा देखिएको छ । तर त्यति हुँदा हुँदै पनि बैंकहरु चनाखो भएका छैनन् । त्यसैले बैंक तथा वित्तीय संस्था भन्दा मानिसहरुले आफुसँगको पैसा बैंकमा भन्दा आफैमा सुरक्षित देख्न थालेका छन् । समग्र २०१९ लाई फर्किएर हेर्दा बैंक तथा वित्तीय क्षेत्रमा जनताप्रतिको विश्वासबाट चुकेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?