कथाकार रवीन्द्र तिमसेनाको ‘आवरण’ सार्वजनिक

काठमाडौँ- कथाकार रवीन्द्र तिमसेनाको लघुकथा सङ्ग्रह ‘आवरण’ सार्वजनिक गरिएको छ । 

नेपाल प्रज्ञा–प्रतिष्ठान र लघुकथा समाज नेपालद्वारा संयुक्त रूपमा लप्सेपेदीमा शनिवार आयोजित एक गोष्ठीका अवसरमा प्रतिष्ठानका सदस्य सचिव प्राध्यापक जगत्प्रसाद उपाध्याय ‘प्रेक्षित’, प्रतिष्ठानकै आख्यान विभाग प्रमुख माया ठकुरी र लघुकथा समाज नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ ले उक्त कृतिलाई संयुक्त रूपमा सार्वजनिक गरे । 

कार्यक्रममा बोल्दै सदस्य सचिव प्रेक्षितले साहित्यमा नयाँ पुस्ताको आगमन बढ्दै जानु सकारात्मक सङ्केत भएको बताए । आख्यानकार ठकुरीले समाजका अनेक बेथिति र विकृतिप्रति चोटिलो व्यङ्ग्य प्रहार गर्दै तिमसेनाले उत्कृष्ट कृति प्रकाशन गरेको धारणा राखिन् । लघुकथा समाज नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ ले नयाँ कृतिले नेपाली लघुकथाको भण्डारमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे । 

मकालु प्रकाशन गृहद्वारा प्रकाशित उक्त पुस्तकमा ५० ओटा लघुकथाहरू सचित्र समावेश छन् । डेढ दशकअघिदेखि लघुकथा लेख्दै आएका तिमसेनाले सङ्ग्रहका रूपमा भने पहिलो पटक प्रकाशन गरेका हुन् ।

उक्त गोष्ठीमा लघुउपन्यास र लघुकथाको स्वरूपबारे प्रा.डा. लक्ष्मणप्रसाद गौतमले प्रस्तुत गरेको गोष्ठीपत्रमाथि कथाकार एवं समालोचक गोविन्द गिरी ‘प्रेरणा’ले टिप्पणी गरेका थिए भने लघुकथा समाज नेपालका सचिव तुलसीहरि कोइराला, समालोचक डा. पुष्करराज भट्टलगायतले पनि लघुकथाबारे आ–आफ्ना भनाइ राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?