कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा गत साउन महिनामा ट्राफिक नियम उल्लङ्घन गर्ने ५ हजार २०२ सवारीसाधन कारबाहीमा परेका छन् ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार कारबाहीबाट प्रहरीले ४३ लाख ६३ हजार ५०० रुपैयाँ राजस्व संकलन गरेको छ ।
प्रदेशमा साउन महिनामा २२३ वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा १५ जनाको मृत्यु भएको छ भने ३२४ जना घाइते भएका छन् । दुर्घटनामा ३२९ वटा सवारीसाधन संलग्न रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार १८१ वटा दुर्घटना चालकको लापरबाहीका कारण भएका थिए । यस्तै, मादक पदार्थ सेवनका कारण ९, सवारीसाधनको अवस्थाका कारण ४, पैदलयात्रीका कारण १२, चौपायाका कारण १५, मौसमका कारण १ र सडकको अवस्थाका कारण १ दुर्घटना भएको थियो ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक पदमबहादुर विष्टले ट्राफिक नियम उल्लङ्घन गर्ने तथा क्षमताभन्दा बढी यात्रु र सामान बोक्ने सवारीसाधनलाई कारबाही गरिँदै आएको बताए । दुर्घटना न्यूनीकरणका लागि ट्राफिक जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन भइरहेको उनले जानकारी दिए ।
यसैगरी, प्रहरीले साउनमा भन्सार छली ल्याइएको १ करोड ६९ लाख ५७ हजार ७८२ रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिएको छ ।
प्राकृतिक सम्पदा दोहनमा संलग्न २४ वटा सवारीसाधन बरामद गरी २ लाख ५४ हजार ५०० रुपैयाँ जरिवाना असुल गरिएको छ । सो घटनामा संलग्न ९ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
त्यस्तै, अवैध वन पैदावार चोरीमा संलग्न ३ जनालाई नियन्त्रणमा लिएर ७१४ क्युफिट काठ बरामद गरिएको छ । उक्त कारबाहीबाट ८ लाख ३ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
अवैध रूपमा ओसारपसार गरिएका पशुपन्छी नियन्त्रणबाट प्रहरीले थप १ लाख २६ हजार रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया