पत्रकारलाई जेल होइन, गलत समाचारमा आर्थिक क्षतिपूर्तिको व्यवस्था गरौँ : अर्जुननरसिंह केसी

लोकपथ
0
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले नेपाल पत्रकार महासंघले घोषणा गरेको आन्दोलनप्रति समर्थन जनाएका छन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै केसीले आलोचनात्मक विचार राख्ने सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्नु र अध्यादेशमार्फत प्रेसको आवाज दबाउन खोज्नु गलत भएको बताएका हुन् ।

संसद् छलेर अध्यादेश ल्याउने तथा सरकारी विज्ञापन वितरणमा विभेद गर्ने सरकारी नीतिविरुद्ध महासंघले घोषणा गरेको आन्दोलन लोकतन्त्रको पक्षमा रहेको उनको भनाइ छ ।

उनले विचार तथा अभिव्यक्ति स्वतन्त्रता र संगठन खोल्न पाउने अधिकार लोकतन्त्रका आधारभूत मान्यता भएको उल्लेख गर्दै सञ्चारमाध्यमलाई नियन्त्रण गर्ने प्रयास स्वीकार्य नहुने बताएका छन् ।

यद्यपि, प्रेस स्वतन्त्रताको नाममा भ्रामक तथा पीत पत्रकारितालाई छुट दिन नहुने उनको धारणा छ । पत्रकारिता कानुन, नियम र आचारसंहिताभित्र रहेर समाजका आवाजविहीन नागरिकको आवाज बन्नुपर्ने उनले बताएका छन् ।

समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गर्ने, थुन्ने वा सञ्चारगृह बन्द गर्नेभन्दा कानुनी प्रक्रियामार्फत आर्थिक क्षतिपूर्ति र देवानी दायित्वको व्यवस्था गर्नुपर्ने केसीको सुझाव छ ।

गलत समाचारको जिम्मेवारी सम्बन्धित समाचारदाताले लिनुपर्ने गरी कडा आर्थिक क्षतिपूर्तिसम्बन्धी कानुन बनाउनुपर्ने उनको भनाइ छ । यसले सञ्चारकर्मीलाई जिम्मेवार बन्न र स्वनियमन गर्न प्रेरित गर्ने उनले बताएका छन् ।

केसीले विभेदकारी विज्ञापन नीति र प्रेसलाई नियन्त्रण गर्ने अध्यादेश खारेज गर्दै आर्थिक उत्तरदायित्वमा आधारित कानुनी व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?