नापजाँच सम्पन्न भएको १२ वर्षपछि सर्लाहीका २७५ परिवारले पाए लालपुर्जा

लोकपथ
0
Shares

काठमाडौं । सर्लाहीको विष्णु गाँउपालिका वडा नं ५ र ६ (साविक सिमरा गा.वि.स. वडा नं १,२,३,४,५,६ र ७) का २७५ स्ववासी परिवारले नापजाँच सम्पन्न भएको करिब १२ वर्षपछि जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् ।

लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका स्थानीय २७५ परिवारले आफ्नो जग्गामाथिको कानुनी स्वामित्व औपचारिक रूपमा प्राप्त गरेका छन् । नापी कार्यालय सर्लाहीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी उनीहरूलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरेको भूमीमन्त्री प्रतिभा रावलको सचिवालयले जनाएको छ ।

उक्त क्षेत्रको नापजाँच कार्य २०७१ सालमै सम्पन्न भएको थियो । तर नापनक्सा सम्पन्न भए पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा लामो समयसम्म जग्गाधनी प्रमाण पुर्जा वितरण हुन सकेको थिएन । लामो समयदेखि रोकिएको प्रक्रिया अघि बढाउँदै अहिले उक्त परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको हो ।

जग्गाधनी प्रमाण पुर्जा प्राप्त भएसँगै स्ववासीका रूपमा बसोबास गर्दै आएका परिवारको जग्गामाथिको स्वामित्व स्थापित भएको छ । स्ववासी जग्गा दर्ता गरी जग्गाधनी प्रमाण पुर्जा वितरण भएपछि स्थानीय बासिन्दाले कानुनी तथा आर्थिक लाभ प्राप्त गर्न सक्नेछन् ।

लालपुर्जा प्राप्त भएपछि जग्गा बैंक तथा वित्तीय संस्थामा धितो राखेर ऋण लिन सहज हुनेछ ।त्यस्तै, जग्गाको स्वामित्व स्पष्ट भएपछि भूमिसम्बन्धी विवाद निरुपण गर्नसमेत सहज हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?