कोप–३१ मा हिमाली युवाको आप्रवासन र सांस्कृतिक क्षतिबारे छलफल

लोकपथ
0
Shares

काठमाडौं । टर्कीको आन्ताल्यामा जारी जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन कोप–३१ मा ‘फोर एच नेपाल’ले अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) को सहयोगमा साइड इभेन्ट आयोजना गरेको छ ।

‘हिमाली क्षेत्रका युवा आप्रवासन तथा सांस्कृतिक क्षति : जलवायु परिवर्तन र समाधानका उपाय’ विषयक कार्यशाला आईओएम पेभिलियनअन्तर्गत ब्लु जोनमा आयोजना गरिएको हो ।

कार्यशालामा फोर एच नेपालका संस्थापक अध्यक्ष तथा जलवायु विज्ञ लोकराज अवस्थीले कार्यपत्र प्रस्तुत गरेका थिए । उनले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रका युवाहरू सामूहिक रूपमा आफ्नो थातथलो छाडेर अन्यत्र बसाइँसराइ गर्न बाध्य भइरहेको विषयलाई प्राथमिकताका साथ उठाएका थिए ।

युवाको पलायन भनेको समुदाय छाडेर अन्यत्र जानु मात्र नभई त्यससँगै स्थानीय कला, संस्कृति, पहिचान र समुदायको भविष्यसमेत प्रभावित हुनु रहेको कार्यपत्रमा उल्लेख गरिएको थियो ।

नेपालका हिमाली तथा पहाडी क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव र सङ्कट बढ्दै गएको भन्दै यसको समाधानका लागि अन्तर्राष्ट्रिय समुदायले तत्काल पहल गर्नुपर्नेमा पनि जोड दिइएको थियो ।

कार्यशालामा सहभागीहरूले जलवायु परिवर्तनका प्रभाव न्यूनीकरण तथा समाधानका उपाय खोज्न गाउँदेखि अन्तर्राष्ट्रिय तहसम्म युवाको सहभागिता सुनिश्चित गर्नुपर्ने धारणा राखेका थिए ।

कार्यक्रममा स्यान्टियागो नेटवर्क सचिवालयका जलवायु परिवर्तन तथा विपद् जोखिमसम्बन्धी विज्ञ लोरेन्जो ग्वाडाग्नोले नेपालमा पछिल्लो समय देखिएका जलवायु परिवर्तनका प्रभावप्रति चिन्ता व्यक्त गरे ।

त्यस्तै, जलवायु परिवर्तन एवं मानव सुरक्षासम्बन्धी अनुसन्धानकर्ता साबा नुरिनले हिन्दकुश हिमशृङ्खलामा भइरहेको जलवायु परिवर्तनले युवा तथा त्यहाँका स्थानीय बासिन्दाको जीवनमा पारेको असरबारे आफ्नो धारणा राखेकी थिइन् ।

कार्यशालामा हिमाली क्षेत्रमा बढ्दो जलवायु सङ्कट, युवाको आप्रवासन, सांस्कृतिक पहिचानको संरक्षण र जलवायु अनुकूलनका उपायबारे छलफल गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?