काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले चीनसँग जोडिएको तातोपानी नाका यथाशीघ्र सञ्चालनमा ल्याउन चिनियाँ पक्षसँग आग्रह गरेका छन् ।
नेपाल भ्रमणमा रहेका चीनको ‘प्रेसिडेन्ट अफ द चाइनिज पिपुल्स एसोसिएसन फर फ्रेन्डसिप विथ फरेन कन्ट्रिज’का अध्यक्ष याङ वानमिङसँग सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको शिष्टाचार भेटवार्ताका क्रममा मन्त्री खनालले यस्तो आग्रह गरेका हुन् ।
परराष्ट्र मन्त्रालयका अनुसार गत भदौमा आएको बाढीका कारण रसुवागढी नाका बन्द रहेको र चीनसँग जोडिएका अन्य उच्च हिमाली नाकाहरू चिसोका कारण पूर्ण रूपमा सञ्चालन हुन नसकेको अवस्थामा तातोपानी नाका खोल्न आवश्यक रहेको मन्त्री खनालले बताएका थिए ।
उनले तातोपानी नाका काठमाडौंसँगको सबैभन्दा छोटो दूरीमा रहेको उल्लेख गर्दै दुई देशबीचको व्यापार तथा आवागमन सहज बनाउन यसको तत्काल सञ्चालन आवश्यक रहेको बताए ।
‘तातोपानी नाका काठमाडौंबाट सबैभन्दा कम दूरीमा रहेको र यो नाका ऐतिहासिक मित्रतापूर्ण सम्बन्धको प्रतीकका रूपमा रहेको छ,’ मन्त्री खनालले भने, ‘यसैले यो नाकालाई हाम्रा दुई मुलुकबीचको कनेक्टिभिटीका लागि तत्काल खुलाउन जरुरी छ ।’
मन्त्री खनालको आग्रहपछि अध्यक्ष याङले सम्बन्धित निकायसँग आवश्यक समन्वय गरेर काम गर्ने बताएका छन् ।
भेटवार्ताका क्रममा नेपाल र चीनबीचको व्यापार, पूर्वाधार विकास, जलवायु परिवर्तन, जनस्तरको सम्बन्ध तथा शिक्षालगायतका विषयमा समेत छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
तातोपानी नाका सञ्चालनमा आएमा चीनसँगको व्यापारिक आवागमन सहज हुनुका साथै रसुवागढी नाका बन्द हुँदा प्रभावित भएको आपूर्ति व्यवस्थालाई समेत राहत पुग्ने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया