कोरला नाकामा रोकिएका पाँच सयभन्दा बढी विद्युतीय गाडी नेपाल भित्रिन थाले

लोकपथ
0
Shares

काठमाडौं । बाक्लो हिमपातका कारण नेपाल–चीन सीमास्थित कोरला नाकामा रोकिएका पाँच सयभन्दा बढी विद्युतीय गाडी नेपाल भित्रिन थालेका छन् ।

गत कात्तिक महिनाको मध्यतिर परेको हिमपातका कारण कोरला नाकामा सयौँ विद्युतीय कार तथा माइक्रोबस रोकिएका थिए। सीमा क्षेत्रमा करिब दुई फिटसम्म हिउँ जम्दा गाडीहरू लामो समयदेखि अलपत्र परेका थिए ।

जिल्ला प्रशासन कार्यालय मुस्ताङ, कालीगण्डकी करिडोर आयोजना र चिनियाँ भन्सारको संयुक्त प्रयासमा डोजर प्रयोग गरी सडकमा जमेको हिउँ हटाउन थालिएको छ। त्यसपछि रोकिएका गाडीलाई नेपालतर्फ ल्याउने काम भइरहेको छ ।

कोरला क्षेत्रको चौरमा फसेका गाडीलाई अन्य सवारीसाधनको सहयोगमा तानेर सडकसम्म ल्याइएको छ। मुस्ताङ भन्सार कार्यालयका प्रमुख अनन्त तिम्सिनाका अनुसार भन्सार कार्यालय र यार्ड क्षेत्र सञ्चालनमा छन्। त्यहाँ आइपुगेका गाडीको नियमित जाँचपास भइरहेको छ ।

तातोपानी र रसुवागढीजस्ता प्रमुख नाकामा समस्या भएपछि व्यवसायीहरूले कोरला नाकालाई वैकल्पिक व्यापारिक मार्गका रूपमा प्रयोग गर्दै आएका छन् । गाडी नेपाल भित्रिन थालेपछि लामो समयदेखि डेलिभरीको प्रतीक्षामा रहेका ग्राहकलाई पनि राहत मिल्ने भएको छ ।

यसैबीच, नेपाली अटोमोबाइल बजारमा पछिल्लो समय विद्युतीय गाडी (ईभी) को माग बढ्दै गएको छ। समग्र अर्थतन्त्रमा सुस्तता देखिए पनि अटो बजारमा भने कारोबार बढेको छ ।

अटो शो, चाडपर्वका बेला हुने बिक्री, नयाँ ब्रान्ड र मोडलको आगमन तथा विभिन्न कम्पनीबीचको मूल्य प्रतिस्पर्धाले गाडीको बजार बढाएको छ । त्यस्तै, बैंक तथा वित्तीय संस्थाबाट कम ब्याजदरमा कर्जा उपलब्ध हुनुले पनि गाडी खरिद गर्ने ग्राहक बढाएको छ ।

पछिल्लो समय पेट्रोल र डिजेलबाट चल्ने गाडीको तुलनामा विद्युतीय गाडीप्रति उपभोक्ताको आकर्षण बढिरहेको छ । सरकारले दिएको कर छुट, गाडीको तुलनात्मक रूपमा कम मूल्य, चार्जिङ सुविधाको विस्तार र कम सञ्चालन खर्चका कारण ईभी धेरैको रोजाइमा पर्न थालेका छन् ।

नेपालमा यात्रुबाहक गाडीसँगै व्यावसायिक प्रयोजनका ठूला तथा साना विद्युतीय गाडीको आयात पनि बढेको छ । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी र एम्बरको प्रतिवेदनले पनि विद्युतीय गाडीको बजार हिस्साका आधारमा नेपाललाई विश्वका अग्रस्थानका देशमध्ये राखेको छ। यसले नेपालमा विद्युतीय गाडीको प्रयोग र बजार विस्तार हुँदै गएको देखाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?