काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही) ले विभिन्न पार्टीका शीर्ष नेता छठ मनाउन तराई मधेश झर्नुलाई सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् ।
छठका अवसरमा कांग्रेस सभापति गगन थापा, रास्वपा सभापति रवि लामिछानेदेखि सभामुख डोलप्रसाद अर्याल लगायत राजनीतिक दलका शीर्ष नेताहरु तराई मधेशमा रहेका छन् ।
पार्टीका शीर्ष नेतादेखि सभामुखसम्म आस्था प्रकट गर्न मधेश झर्नुलाई सकारात्मक रुपमा लिँदै सुझाव दिएका छन् । हिन्दू राज्यलाई आफ्नो मुल मर्म बनाएर अघि बढेको राप्रपाबाट प्रतिनिधित्व गर्ने शाहीले हिन्दू राष्ट्रका लागि संसदबाटै विधेयक अघि बढाउन सुझाव दिए ।
‘छठ पर्वका नाममा प्रतिपक्षी दलका सभापति गगन थापा, सत्तापक्षका सभापति रवि लामिछाने र देशका सभामुखज्यूले विभिन्न ठाउँमा पुगेर आस्था प्रकट गर्नुभएको देखियो। धर्म, संस्कार र संस्कृतिप्रतिको यो आस्था साँच्चै राम्रो कुरा हो,’ उनले भनेका छन्, ‘अब तपाईंहरूलाई मेरो आग्रह छ– नेपालको हिन्दु राष्ट्र पुनःस्थापनाका लागि आगामी संसद्बाटै विधेयक पारित गराउन पहल गर्नुस् । धर्म र संस्कृतिप्रति यति धेरै आस्था रहेछ भने अब ढिलो किन गर्ने ? छिटोभन्दा छिटो हिन्दु राष्ट्र पुनःस्थापनाका लागि अघि बढौँ ।’
यसैगरी उनले केही समयअघिको सुनसरीको कप्तानगञ्जमा भएको धार्मिक द्धन्द्धको घटना समेत स्मरण गरेका छन् । उनले तीन जना युवाको ज्यान जाने गरए भएको घटनामा संलग्न प्रहरी अधिकारी र गोली चलाउने गृहमन्त्रीले आदेश दिएको भन्दै उनीहरुमाथि कारबाहीको माग समेत गरेका छन् ।
‘सुनसरीको कप्तानगञ्जमा आफ्नो धर्म र परम्पराअनुसार पूजा गरिरहेका तीन युवालाई गोली हानी हत्या गरिएको घटनामा संलग्न प्रहरी अधिकारी र गोली चलाउन आदेश दिने तत्कालीन गृहमन्त्रीलाई कानुनी कठघरामा उभ्याएर कारबाही गर्न पनि पहल गर्नुस्,’ उनले भनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया