काठमाडौं । मध्य जापानमा आइतबार बिहान ५.७ म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा २४ जना घाइते भएका छन् । भूकम्पका कारण भवनका झ्यालका सिसा फुट्नुका साथै रेल सेवा पनि प्रभावित भएको छ ।
जापान मौसम विज्ञान एजेन्सीका अनुसार स्थानीय समयअनुसार आइतबार बिहान १ः०४ बजे टोकियोको पश्चिममा पर्ने सिजुओका प्रिफेक्चर केन्द्रबिन्दु भएर भूकम्प गएको हो । भूकम्पपछि सुनामीको चेतावनी भने जारी गरिएको छैन ।
भूकम्पबाट मानवीय क्षति भएको खबर नआए पनि विभिन्न क्षेत्रमा भवनका झ्यालका सिसा फुटेका छन् भने पसलमा राखिएका सामान खसेका छन् ।
आइची क्षेत्रका आपत्कालीन सेवा अधिकारीका अनुसार भूकम्पका कारण सामान्य चोटपटक लागेका १६ जनाबारे जानकारी प्राप्त भएको छ । त्यस्तै, छिमेकी सिजुओका क्षेत्रमा कम्तीमा तीन महिला उपचारका लागि अस्पताल पुगेका छन् । तीमध्ये ९० वर्ष उमेर समूहकी एक महिला भूकम्पको धक्काले ओछ्यानबाट खस्दा काँधमा चोट लागेको थियो ।
स्थानीय सञ्चारमाध्यम चुनिची सिम्बुन र तोकाई टेलिभिजनका अनुसार आइची र सिजुओका क्षेत्रमा गरी कम्तीमा २४ जना घाइते भएका छन् ।
भूकम्पका कारण आइचीको तोयोहासी सहरस्थित एउटा कार प्रदर्शनी कक्षका झ्यालका सिसा फुटेका छन् । टोयोटा सहरको एक ठूलो पुस्तक पसलमा दराजबाट किताब तथा अन्य सामान खसेका छन् ।
भूकम्पपछि आइतबार बिहान क्षेत्रीय रेल सेवासहित सिन्कान्सेन बुलेट रेलको सञ्चालनमा ढिलाइ भएको थियो । भूकम्पको धक्का पश्चिममा रहेको ओसाकासम्म महसुस गरिएको थियो ।
स्थानीय सञ्चारमाध्यमका अनुसार ओसाकामा एक विदेशी नागरिक भूकम्पको धक्काले आत्तिएर आफ्नो अपार्टमेन्टको दोस्रो तलाबाट खसेका छन् । उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । घटनाबारे ओसाका अधिकारीबाट तत्काल थप विवरण प्राप्त भएको छैन ।
यसैबीच, आइतबार बिहान कुमामोतो क्षेत्रमा पनि ४।३ म्याग्निच्युडको अर्को भूकम्प गएको जापान मौसम विज्ञान एजेन्सीले जनाएको छ । उक्त भूकम्पबाट कुनै गम्भीर क्षति वा मानवीय चोटपटक भएको खबर प्राप्त भएको छैन ।
जापान प्रशान्त महासागरको ‘रिङ अफ फायर’ क्षेत्रमा पर्ने भएकाले त्यहाँ वर्षेनी सयौँ भूकम्प जाने गर्छन् । सन् २०११ मा जापानमा गएको ९ म्याग्निच्युडको शक्तिशाली भूकम्पपछि आएको सुनामीमा परी करिब १८ हजार ५०० जनाको मृत्यु भएको वा बेपत्ता भएका थिए । उक्त विपत्तिले फुकुसिमा आणविक केन्द्रमा समेत ठूलो क्षति पुर्याएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया