एनपीएल : कर्णालीलाई ३९ रनले हराउँदै सुदूरपश्चिम अंक तालिकाको दोस्रो स्थानमा

डेब्यु खेलमै मिलरको ९३ रन, तर कर्णालीलाई जिताउन सकेनन्

लोकपथ
49
Shares

काठमाडौं । सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ३९ रनले पराजित गरेको छ ।

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको नेपाल प्रिमियर लिग (एनपीएल) को खेलमा कर्णालीलाई हराउँदै सुदूरपश्चिम अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको हो ।

सुदूरपश्चिमले दिएको १७७ रनको लक्ष्य पछ्याएको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३७ रन मात्र बनाउन सक्यो ।

कर्णालीका लागि डेविड मिलरले उत्कृष्ट ब्याटिङ गर्दै ९३ रन बनाए । एनपीएलमा डेब्यु गरेका मिलरले ५५ बलमा ५ चौका र ७ छक्का प्रहार गरे । गत बुधबार मात्रै नेपाल आइपुगेका उनले उत्कृष्ट प्रदर्शन गरे पनि टोलीलाई जित दिलाउन सकेनन् ।

कर्णालीका दीपक डुम्रेले १८ रन बनाए । त्यस्तै, कप्तान सोमपाल कामीले ८, पवन सर्राफले ५, मार्क वाटले ४ र गुल्सन झाले ३ रन जोडे ।

सुदूरपश्चिमका स्कट कुगेलेइनले २ विकेट लिए । हेमन्त धामी, अनिल खरेल, दीपेन्द्रसिंह ऐरी, थरिन्दु रथनायके र अभिनाश बोहराले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७६ रन बनाएको थियो ।

सुदूरपश्चिमका लागि सैफ जैबले सर्वाधिक ३५ रन बनाए । उनले २४ बलमा ४ चौका र एक छक्का प्रहार गरे । विनोद भण्डारीले २७ रन बनाए । पहिलो विकेटका लागि जैब र भण्डारीले ६८ रनको साझेदारी गरेका थिए ।

त्यस्तै, ब्रान्डन म्याकमुलेनले २४, इशान पाण्डेले २३ र थरिन्दु रथनायकेले २२ रन बनाए । स्कट कुगेलेइनले अविजित १३, आरिफ शेखले ११ र कप्तान दीपेन्द्रसिंह ऐरीले १० रनको योगदान दिए ।

कर्णालीका मार्क वाटले २ विकेट लिए । नन्दन यादव, हुसेन तलत र सूर्य तामाङले समान एक विकेट हात पारे ।

यस जितसँगै सुदूरपश्चिमले पाँच खेलबाट ६ अंक जोडेको छ । तीन खेलमा जित र दुई खेलमा हार बेहोरेको सुदूरपश्चिम दोस्रो स्थानमा पुगेको हो । यससँगै टोलीको प्लेअफ पुग्ने सम्भावना बलियो बनेको छ ।

यता, कर्णाली भने हारसँगै अंक तालिकाको पाँचौँ स्थानमा झरेको छ । चार खेलबाट ४ अंक जोडेको कर्णाली रनरेटका आधारमा पछाडि परेको हो । यो हारले कर्णालीको प्लेअफ यात्रा थप कठिन बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?