काठमाडौं । सामाजिक सुरक्षा भत्ता हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ओखलढुङ्गाको लिखु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतहरूसहित पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जी र अभयकुमार गुप्ता, निमित्त प्रमुख प्रशासकीय अधिकृत दीनानाथ चौधरी, लिखु गाउँपालिका–९ का वडाध्यक्ष शुकवीर तामाङ र गाउँपालिकाका एमआईएस अपरेटर खिला विकविरुद्ध बिहीबार मुद्दा दायर गरेको हो ।
आयोगका अनुसार उनीहरूले विभिन्न आर्थिक वर्षमा मृत्यु भइसकेका सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको नाम लगतबाट नहटाई भत्ता वितरण गरेको देखाएर ३१ लाख ६७ हजार २०० रुपैयाँ हिनामिना गरेका थिए ।
यस प्रकरणमा दर्जीविरुद्ध ९ लाख ५३ हजार ६०० रुपैयाँ, गुप्ताविरुद्ध ११ लाख ६७ हजार २०० रुपैयाँ र चौधरीविरुद्ध ७ लाख ९४ हजार ४०० रुपैयाँ बिगो कायम गरिएको छ ।
त्यस्तै, वडाध्यक्ष तामाङ र एमआईएस अपरेटर विकविरुद्ध जनही ३१ लाख ६७ हजार २०० रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिम कैद सजायसमेत माग गरिएको छ ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेले मृत्यु भइसकेका लाभग्राहीको लगत कट्टा नगरी भत्ता वितरण गरेको देखाएर रकम हिनामिना गरेको पुष्टि भएपछि उनीहरूविरुद्ध मुद्दा दायर गरिएको जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया