उपत्यकामा हराएका तथा चोरी भएका ५० दुईपाङ्ग्रे सवारीसाधन धनीलाई फिर्ता

लोकपथ
0
Shares

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरीले हराएका तथा चोरी भएका ५० वटा दुईपाङ्ग्रे सवारीसाधन फेला पारी सम्बन्धित धनीलाई फिर्ता गरेको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आज आयोजित कार्यक्रममा ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशप्रसाद काफ्लेले फेला परेका सवारीसाधन सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् ।

फिर्ता गरिएका सवारीसाधनमध्ये २५ वटा मोटरसाइकल र २५ वटा स्कुटर रहेका छन् । विभिन्न समयमा परेको निवेदनका आधारमा खोजतलास गर्दा ती सवारीसाधन फेला पारिएको ट्राफिक प्रहरीले जनाएको छ ।

कार्यक्रममा एसएसपी काफ्लेले सवारीसाधनको सुरक्षामा धनी स्वयं पनि सचेत हुनुपर्ने बताए । उनले सवारीसाधन हराए वा चोरी भएमा तत्काल ट्राफिक प्रहरीलाई जानकारी गराउन आग्रह गरे । साथै, जथाभावी तथा एकान्त स्थानमा पार्किङ नगर्न, जीपीएसलगायत सुरक्षा उपकरण जडान गर्न र आवश्यक सावधानी अपनाउन सुझाव दिए ।

ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा हालसम्म हराएका तथा चोरी भएका ३०३ वटा दुईपाङ्ग्रे सवारीसाधन फेला पारेर धनीलाई बुझाइसकिएको छ ।

उनका अनुसार मोटरसाइकल चोरीमा संलग्न रहेको आशंकामा ३४ जनालाई पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसरमा पठाइएको छ । त्यस्तै, तीन वटा चारपाङ्ग्रे सवारीसाधन र दुई वटा मोटरसाइकल आवश्यक कारबाहीका लागि भन्सार कार्यालय पठाइएको छ ।

प्रवक्ता सुवेदीले व्यक्तिगत सतर्कता, प्रविधिको प्रयोग र भौतिक सुरक्षामा ध्यान दिन सके सवारीसाधन चोरी नियन्त्रण गर्न सकिने बताए । उनले चोरीमा संलग्न व्यक्तिमाथि कानुनी कारबाहीलाई प्रभावकारी बनाउँदै ट्राफिक प्रहरीले जनशक्ति र आधुनिक प्रविधिको प्रयोगमार्फत निगरानी बढाइरहेको जानकारी दिए ।

हराएका तथा चोरी भएका सवारीसाधन खोजी गरी धनीलाई फिर्ता गराउने अभियानले प्रहरीप्रतिको नागरिकको विश्वास बढाउनुका साथै सवारीसाधन चोरी नियन्त्रणमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ । सवारीसाधन फिर्ता पाएपछि धनीहरूले खुसी व्यक्त गर्दै ट्राफिक प्रहरीलाई धन्यवाद दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?