काठमाडौं । गत भदौ १० को महाविनाशकारी बाढीको दुई महिना पार गर्दा समेत राहत र पुनस्थापनाका लागि आर्थिक सहयोग रकम उपलब्ध भइरहेको छ ।
विभिन्न मित्र राष्ट्र, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका संस्थाहरु, विभिन्न कम्पनी र व्यक्तिगत तबरबाट समेत सरकारी राहत कोषमा आर्थिक सहयोग आउने क्रम जारी छ ।
यसैक्रममा जापानको सुपर बी कम्पनी लिमिटेडले समेत नेपालीहरुको पीडामा मल्हम लगाउन आर्थिक सहयोग रकम उपलब्ध गराएको छ ।
जापानमा रहेका नेपालीहरुलाई रोजगारी मात्र होइन बाढीले प्रभावित बनेको नेपालका लागि केही सहयोगस्वरुप आर्थिक सहायता उपलब्ध गराएको हो ।

राजधानी टोकियोमा मुख्य ब्रान्च रहेको सुपर बीको ओशाका, नागोया, फुकुओमा गरी २५ सय नेपालीलाई रोजगारी समेत दिइरहेको छ ।
सोही कम्पनीले बाढी प्रभावितहरुको राहत र उद्धारका लागि सरकारी राहत कोषमा १० लाख ८० हजार ८ सय ८८ रुपैयाँ हस्तान्तरण गरेको छ ।
कम्पनीका सीईओ हिरोइकी ताकी, डाइरेक्टर सोता इचिमुरा र नेपाली एरिया म्यानेजर मुक्ति ढकालले एक समारोहकाबिच उक्त रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्ले समक्ष हस्तान्तरण गरे ।

उक्त रकम बुझ्दै अर्थमन्त्री डा. वाग्लेले नेपालीहरुका लागि रोजगारी दिइरहेको कम्पनीले बाढी प्रभावितहरुका लागि थप सहयोग गरेकोमा धन्यवाद ज्ञापन गरे ।
यता उक्त कम्पनीका नेपाली एरिया म्यानेजर ढकालले कम्पनीको तर्फबाट उक्त रकम सहयोग गर्न पाउँदा खुसी लागेको बताए । साथै कम्पनीका प्रतिनिधिहरुले मानव इतिहासमै विरलै घट्ने भोटेकोशी बाढी जस्ता घटनामा नेपाल सरकारका लागि आफूहरुले उपलब्ध गराएको सहयोग रकमले पीडितको घाउमा मल्हम लगाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया